गुड फ्राइडे सिनेमा
यो कथा महाभारतका पात्रहरूको हो। महाभारत भन्नेबित्तिकै पाण्डवहरू सम्झिनुहोला तर यसमा पाण्डवहरू छैनन्।
पोडियानकुलम दूर्योधनको गाउँ हो। उनी गाउँका अगुवा हुन्। यो गाउँमा पाण्डवहरूकी पत्नीका रूपमा चिनिने द्रौपदी पनि छिन् जो कर्णलाई प्रेम गर्छिन्।
मिथकमा आधारित पात्रहरू भएकाले यो फिल्मको प्रस्तुति त्यस्तै होला भनेर अनुमान लाउनु स्वाभाविक हो। यो अनुमान यहाँ काम लाग्दैन।
यो फिल्मको कथा के छ भनेर व्याख्या गर्नु पनि खास महत्वपूर्ण छैन। किनकि यसको कथा अरू सामान्य फिल्मझैं लाग्न सक्छ। दमदार प्रस्तुति र सिनेमाटोग्राफीमा भव्य फिल्म हेरिसकेकालाई यसमा यी गुण औसत लाग्छन्। यसको खासियत त कथा बुन्ने शैली र दृश्य हो।
सर्सर्ती छोटकरीमा भन्दा यो फिल्मका मुख्य पात्र हुन् कर्ण। तमिल भाषामा यो फिल्मको नाम उनकै नाममा राखिएको छ- कर्नन।
फिल्मको सुरूआती दृश्य झसंग बनाउने खालको छ। एक बालिका सडकमा लम्पसार हुन्छिन्। मृत्यु उनलाई लिन तम्तयार छ। आसपासबाट थुप्रै गाडी ओहोरदोहोर गर्छन्। तर कोही उनलाई मद्दत गर्न रोकिँदैनन्। बालिकाले सडकमै ज्यान गुमाउनुपर्छ। हेर्दाहेर्दै बालिकाको अनुहार देवीको मुखुन्डोमा परिणत हुन्छ।
यो फिल्म यी देवी बालिका र मुखुन्डो पछाडिको कथा हो।
वर्षौंदेखि कथित उच्च जातिबाट दबिएको गाउँ हो पेडियानकुलम। यो गाउँमा बसस्टप छैन। छिमेकी गाउँ मेलुरले पेडियानकुलमका बासिन्दालाई आफ्नो बसस्टप प्रयोग गर्न दिँदैन। दुई गाउँबीच विवादको मुख्य कारण यही बसस्टप हो। एउटा बसस्टपकै नभएकै कारण कर्णको गाउँले अवसर पाउँदैन। उनीहरू पढ्न-लेख्न अर्को सहरसम्म जान सक्दैनन्। उपचार पनि पाउँदैनन्। यो गाउँ अपहेलित छ। यहाँ सरकार र प्रणालीले समेत साथ दिँदैनन्।
यो फिल्मले दुई गाउँको विवाद र जातीय विभेदको पनि कथा भन्छ।
कर्ण सामान्य परिवारका छोरा हुन्। तर उनको व्यवहार गाउँलेका निम्ति असमान्य हुन्छ। उनी क्रान्तिकारी स्वभावका छन्। अन्याय र विभेद खप्न सक्दैनन्। यसविरूद्ध मारपिट गर्न पछि पर्दैनन्। सबभन्दा ठूलो कुरा उनी साहसिला छन्।
उनी यो महाभारतीय गाउँका योद्धा हुन्। गाउँमा सबैजसोले गर्न डराएको काम उनले गर्छन् र सफल हुन्छन्। तर उनको यो व्यवहारले गाउँमा कति अप्ठ्यारा सिर्जना गर्छ भन्ने उनलाई अनुमानसम्म हुँदैन।
हरेक अप्ठ्यारामा उनलाई साथ दिन उनका हजुरबुवा सँगै हुन्छन्। हजुरबुवा र गाउँलेको सपना हुन्छ- कर्ण सेनामा भर्ती होस्।
यो फिल्म समानताको सपना देख्ने र त्यसविरूद्ध लड्ने कर्ण र उनका आफन्तको कथा पनि हो।
आफ्नो हकका लागि कर्णले सुरूमा गाउँलेबीच नै आवाज उठाउनुपर्छ। विस्तारै छिमेकी गाउँ हुँदै सरकारी प्रशासन र प्रणालीसँग लडाइँ खेल्नुपर्छ।
प्रहरीका रूपमा देखिएका कृष्ण प्रशासन र प्रणालीका दूत हुन्। पेडियानकुलमका गाउँलेमाथि हुने विभेद र अन्यायका खेलाडी हुन्।
यो फिल्म कर्ण र कृष्णबीचको युद्ध कथा पनि हो।
फिल्म कर्ननको कथा भन्ने तरिका फरक छ। खासमा 'हेर्ने' खालको होइन, देख्नुपर्छ, बुझ्नुपर्छ। यसका लागि कुनै माथापच्ची भने गरिरहनु पर्दैन। फिल्ममा सशक्त दृश्य र बिम्बहरू छन्।
जस्तै, फिल्ममा पेडियानकुलमका देवतालाई शिरबिहीन देखाइएको छ। गाउँलाई रक्षा गर्ने देवताले यो गाउँ छाडिसकेका छन्।
कर्णले वर्षौंदेखि हुन नसकेको काम फत्ते गर्दै तरबार जित्छन्। त्यो तरबार उनको नेतृत्वको संकेत हो।
अर्को छ गधा। अगाडिका खुट्टा बाँधिएको यो गधाले कर्ण र उनका गाउँलेलाई प्रतिबिम्बित गर्छ। मालिकले नभागोस् भनेर बाँधिएको त्यो डोरी गधा र कर्णले कसरी फुकाउँछन्, त्यो रोचक छ।
यो गाउँमै एक मात्र घोडा पनि छ। गाउँकै एक बालकले कसैसँग मागेर ल्याएको यो घोडा कसरी कर्णको लडाइँमा जोडिन्छ, त्यसका लागि कर्नन हेर्नुहोला।
माछा, हात्ती, पुतली, चील, गाईगोरु र अन्य जनावरले पनि फिल्ममा आफ्नो भूमिका पाएका छन्। हरेक जनावर फिल्मका कुनै न कुनै पात्रको जीवनसारथी जस्ता लाग्छन्।
यो फिल्म जति मिथकमा आधारित छ, त्यति नै वास्तविकतामा पनि। पेडियानकुलम गाउँको नाम कोडियानकुलमबाट राखिएको हो। यो दलितहरूको बस्ती थियो। सन् १९९५ मा यहाँ प्रहरीहरूले आक्रमण गरेर लुटपाट गरेका थिए। त्यो आक्रमण दलितहरूलाई झनै गरिब र दयनीय बनाउन गरिएको मानिन्छ।
फिल्म कर्ननले पोडियानकुलम गाउँको कथामार्फत् त्यो घटना सम्झाउन खोजेको छ।
मारी सेल्भराजको निर्देशनमा बनेको कर्नन समीक्षकहरूबाट एकदमै धेरै प्रशंसा पाएको फिल्म हो। सन् २०२१ मा रिलिज भएको कर्ननलाई उनीहरूले शक्तिशाली फिल्म भनेका छन्।
निर्देशक सेल्भराजले फिल्मका हरेक दृश्यमा सन्देश र कथा बुनेका छन्। फिल्मका कुनै दृश्य मिस नगर्दा राम्रो, हरेकले आफ्नो कहानी बोल्छन्।
वास्तविक जीवनमा देखिरहेकै भए पनि सेल्भराजको कथा पस्किने खुबीले यसले दर्शकको मस्तिष्कमा गहिरो छाप पर्छ। शक्तिशाली र शसक्त कथा भएको तमिल फिल्मको सूचीमा अग्रस्थानमा पर्छ कर्नन।
आज गुड फ्राइडे सिनेमामा हामीले तपाईंहरूलाई यही फिल्म सिफारिस गरेका छौं।