अभिनेता सौगात मल्ललाई अझै याद छैन, उनी सानो छँदा नाच्न भनेपछि हुरूक्कै हुन्थे।
आमाले उनलाई सुनाएकी हुन्, 'तँ सानैदेखि फरक तरिकामा नाच्न रूचाउँथिस्।'
कस्तो तरिका उनीहरू दुवैलाई थाहा छैन। तर आमाको कुरा सुनेर सौगातलाई अहिले अचम्म पनि लाग्छ।
घरमा टेलिभिजन थिएन। सुरूसुरूमा नाच्ने-गाउनेबारे त्यतिधेरै जानकारी भएन। उमेर बढ्दै जाँदा उनी स्कुल, स्थानीय साँस्कृतिक कार्यक्रम र स्टेजहरूमा नाच्न थाले। तै पनि उनले आफ्नो के कुरामा बढी रूचि छ भन्ने थाहा पाएनन्।
'म आफूलाई मन लागेको सबै गर्थेँ। अनि ती काम फरक तरिकाले गर्थेँ। तर मलाई के मनपर्छ भन्ने धेरै पछिसम्म थाहा थिएन,' उनले सेतोपाटीसँग भने।
नवलपरासीमा जन्मिएका उनको घरमा सधैं काममा सघाइरहने रेङ्वा नामका दाइ थिए। ती दाइले फिल्मका कथाहरू सुनाउँथे।
दाइले उनलाई भेट्दैपिच्छे कथा भन्थे। हिरोले यस्तो अभिनय गर्छ भन्दै त्यस्तै आवाज निकाल्थे। यसले सौगातभित्र फिल्ममा रमाइलो कुरा हुँदो रहेछ कि क्या हो भनेर कौतुहलता जगाउन थाल्यो।
जब फिल्म हेरे, उनलाई लाग्यो- ठ्याक्कै दाइले भनेजस्तै हो।
'तर फिल्मभन्दा दाइले कथा भनेकै रमाइलो लाग्यो,' उनी सम्झिन्छन्।
कथा दाइले भनेको रमाइलो लागे पनि फिल्मले उनलाई तान्दै गयो। उनी धेरै फिल्म हेर्न थाले। बिस्तारै फिल्मको पात्र नै बन्ने मोह जाग्न थाल्यो।
'फिल्म हेर्न थालेपछि मलाई पनि फिल्मकै पात्र बन्ने रहर जाग्यो। अनि त झन् धेरै फिल्महरू हेर्न थालेँ,' उनी फिल्मतिर तानिएको सम्झना गर्छन्।
उनलाई फिल्ममा राम्रो काम गर्नु थियो। त्यसैले उनी फिल्म खेल्न के गर्नुपर्छ, के गर्न हुँदैन लगायतबारे जानकारी लिन थाले। उनको निष्कर्ष निस्कियो- मान्छेहरूलाई हेर्नुपर्ने रहेछ। आफू, परिवार, साथीभाइ, जनावर, सबै हेरेर बुझ्यो भने अभिनय सिकिने रहेछ!
अब त झन् के चाहियो, उनी अभिनयको हुटहुटी बोकेर काठमाडौं आए।
गाउँमा सपना देखेजस्तो काठमाडौं भएन। धाउँदाधाउँदा बल्ल सहायक भूमिका निर्वाह गर्ने अवसर पाए। फिल्म थियो 'रणभूमि'।
उनको अभिनय निर्माताको नजरमा पर्यो। त्यसैले उनको करिअरको दोस्रो फिल्ममै मुख्य भूमिका पाए। 'कागवेनी' मा उनको अभिनय अहिलेसम्म प्रशंसनीय छ।
सौगातलाई अभिनय गर्ने थप ऊर्जा मिल्यो। फिल्मको कथा राम्रो भए जुनसुकै पात्र खेल्ने मनसाय बनाए। त्यहीअनुसार उनले 'के यो माया हो', 'लुट', 'कथा', 'कबड्डी कबड्डी', 'झ्यानाकुटी' लगायत फिल्म खेले। यीमध्ये उनको करिअरकै टर्निङ प्वाइन्ट लुट रह्यो। हाकु कालेको भूमिकामा देखिएका सौगात दर्शकमाझ प्रिय बने।
सौगातले अभिनयको आफ्नो भोकलाई फिल्ममा मात्र सीमित राखेनन्। रंगमञ्चमा पनि रमाउन थाले। रंगमञ्चमा प्रत्यक्ष अभिनयले उनलाई अझै निखार्यो। उनी आफूलाई अब्बल अभिनेताका रूपमा चिनाउन सफल भए।
आफ्नो अभिनय मोहबारे सौगात भन्छन्, 'बच्चा बेलादेखि नै फिल्ममा काम गर्छु भन्ने सोचेर होला, मलाई अभिनयबाहेक अरू केही आउँदैन पनि।'
फिल्मी संसारमा रमाउने सौगातको नयाँ फिल्म आउँदैछ- मन्त्र।
मन्त्र आगामी वैशाख १६ गतेबाट प्रदर्शन हुँदैछ। सुटिङ क्रममा थुप्रै अनुभव बटुलिसकेका सौगातलाई यो फिल्मले नयाँ अनुभव दियो। उनले घोडा दौडाउनु पर्ने भयो। यसअघि कहिल्यै नगरेको काम!
अनुभव सुनाउँदै उनले भने, 'घोडा कुदाउन सिक्नुपर्ने थियो। मेरा लागि ठूलै चुनौती थियो। तर छायांकन सुरू हुनुभन्दा सात दिनअघि नै दौडाउन सिकेँ। डर हट्यो र फिल्ममा राम्ररी घोडा कुदाउन सकेँ।'
फिल्मको पात्रअनुसार हिमाली भाषा बोल्न पनि उनलाई अलि मुश्किल थियो। तर पहिले नाटकमा हिमाली भाषामा अभिनय गरिसकेकाले सहज भइदियो।
'यो फिल्ममा काम गर्दैगर्दा गुरुकुल (नाटकघर) मा लगाएको हिमाली भेषभुषा याद आइरहेको थियो। मलाई नाटकै गरिरहेको छुजस्तो पनि लागेको थियो,' उनले भने।
फिल्मको सबै पात्रमा उत्तिकै भिज्न रूचाउने सौगात आफूलाई 'हिरो' ठान्दैनन्। भन्छन्, 'फिल्ममा आफूजस्तो छु, त्यस्तै देखिन मन लाग्छ।'
हरेक फिल्ममा उत्तिकै मेहनत गरे पनि सबै सफल हुँदैनन्। सौगात यसमा थुप्रै कारण हुने बताउँछन्। पहिलो त फिल्मको कथा नै महत्त्वपूर्ण हुन्छ। कथा बलियो नभए फिल्म राम्रो नहुने उनको भनाइ छ।
'हामी फिल्म बनाउन धेरै समय दिन खोज्दैनौं। स्क्रिन प्ले बनाउन एक वर्ष पनि दिँदैनौं,' सौगात भन्छन्, 'स्क्रिप्टमा सबभन्दा बढी समय दिनुपर्छ।'
भिडिओः सुसन चौधरी/सेतोपाटी