सानै उमेरदेखि गायनमा रूचि राख्ने अभिनेता अनमोल केसी पछिल्लो समय फिल्म क्षेत्रमा जमिरहेका छन्। विशेषगरी युवा पुस्ताबाट प्रशंसा कमाएका उनको नयाँ फिल्म 'ए मेरो हजुर ४' प्रदर्शनरत छ।
फिल्मकै व्यस्तताका कारण उनी गायनमा खासै समय दिन पाउँदैनन्। तर फुसर्दको समय गीत गाएर र सुनेरै बिताउँछन्।
उनलाई संगीतले निकै आकर्षित गर्छ। कतै पार्टीमा गए भने पनि उनी गीत गाइहाल्छन्। उनले फिल्म क्षेत्रमा आउनुभन्दा अगाडि एउटा ब्यान्ड समेत सञ्चालन गरेका थिए। हाल उक्त ब्यान्डका साथीहरू सक्रिय नभएको अनमोलले बताए।
'मेरो ब्यान्डका साथीहरू अहिले सबै व्यस्त हुनुहुन्छ। प्रायः सबै अर्कै क्षेत्रमा जानुभयो। तर म्युजिक भन्ने यस्तो चिज हो जुन आफैंमा पनि रमाउन सकिन्छ। म अहिले पनि घरमा गीत सुनिरहेको हुन्छु, गितार बजाउँछु, ड्रम बजाउँछु। मलाई गीत-संगीतमा पहिला जति रूचि थियो अहिले पनि त्यति नै रूचि छ,' उनले भने।
अनमोलले आफ्ना बुबा भुवन केसीको फिल्म 'साथी म तिम्रो' मा गायकको भूमिका समेत निर्वाह गरेका छन्। हेमराज विसीले उनलाई 'होस्टल' फिल्म अफर गरेपछि उनको बाटो मोडियो। उनलाई फिल्म होस्टल अफर हुँदा जम्मा १७ वर्षका थिए। आफ्नो स्वभावसँग मिल्ने भएका कारण उनले होस्टल फिल्म खेल्ने निर्णय गरे।
पहिलो फिल्मबाट दर्शकको माया र हौसला पाएपछि उनले फिल्म क्षेत्रमै काम गर्ने सोच बनाए। उनको निर्णयलाई आमाबुबाले पनि समर्थन गरेको बताउँछन्।
'म फिल्मी परिवारबाट भए पनि मलाई फिल्ममा काम गर्न कसैको दबाब थिएन। यो मेरो आफ्नै निर्णय हो। म कला प्रेमी हुँ। त्यस्तै फिल्ममा काम गर्ने सोच बनाएँ,' अनमोलले भने।
उनले फिल्म खेल्ने निर्णय गर्दा साथीहरूले खिस्याउँदै भनेका थिए, 'ए तँ पनि हिरो बन्ने!'
आज तिनै साथीहरूले सहायक भूमिका छैन भनेर सोध्दा खुसी लाग्ने बताउँछन् अनमोल। त्यति मात्र होइन ती साथीहरूले आफ्नो फिल्मको टिकट मिलाउन समेत अनुरोध गर्छन्।
'मैले फिल्म होस्टलमा काम गर्दा कलाकार नै बन्छु भनेर सोच बनाएको थिइनँ। बिना तयारी फिल्म क्षेत्रमा प्रवेश गरेँ। फिल्म क्षेत्रमै काम गर्ने सोच बनाएपछि अहिले म हरेक फिल्मका लागि वर्कसपहरू गर्छु, भ्वाइस एक्सर्साइज पनि गरिरहेको हुन्छु,' उनले भने।
होस्टलबाट डेब्यू गरेका अनमोललाई दर्शकले 'लभर ब्वाइ' को रूपमा रूचाउँछन्। उनले 'कृ' मा एक्सन अभिनेता र 'क्याप्टेन' मा फुटबलरको भूमिका निर्वाह गरेका थिए। ती फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेनन्। न उनलाई एक्सन हिरोको रूपमा दर्शकले स्वीकार गरे।
पछिल्लो समय उनी 'लभर ब्वाइ' कै रूपमा देखिँदैछन्। आफ्नो उमेरका कारण दर्शकले यस्तै छविमा रूचाएको बताउँछन् अनमोल।
'मेरो उमेरका कारण दर्शकले लभर ब्वाइकै रूपमा रूचाउनुभएको होला। म भर्खरै २८ वर्ष पुगेँ। एक्सन जनरामा जान, फरक खाल्को भूमिका निर्वाह गर्न बल्ल समय हुँदैछ। अहिले चाहिँ मैले आफैं पर्याप्त पहल नगरेकै हो,' उनले भने।
उनले आफ्नो अभिनय सुधार्दै भर्साटाइल अभिनेताका रूपमा स्थापित हुने इच्छा व्यक्त गरे। जुनसुकै भूमिकामा देखिन उनलाई मन छ।
भन्छन्, 'ममा धेरै कमी कमजोरी छ। आफ्नो अभिनय, डान्स, डाइलग डेलिभरीदेखि लिएर सबै कुरा सुधार्नुपर्छ। त्यसलाई सुधार्दै अर्का पुस्तासम्म काम गर्न सक्छु भन्ने विश्वास छ।'