गितार सेसनः सम्पादकीय नोटः फरक पेसा-व्यवसायमा रहेका तर गीत गाउन सौखिनहरूका लागि हामीले गितार सेसन सुरू गरेका हौं। यो सेसनमा गितार नै बजाउनुपर्छ भन्ने छैन। तपाईंहरूले गीत मात्र गाउन सक्नुहुन्छ वा आफूले जानेका अन्य बाजाहरू पनि बजाउन सक्नुहुन्छ। सेतोपाटी गितार सेसनमा सम्पर्क गर्न इमेल गर्नुहोस्- setopati@gmail.com
नवीन चौहान 'के माया लाग्छ र', 'देखेर तिमीलाई' जस्ता चर्चित गीतका म्युजिक भिडिओ निर्देशक हुन्। नवीन अडिओ-भिडिओ सम्बन्धी काम गर्ने प्रोडक्सन हाउस आर्टमान्डुका कार्यकारी निर्देशक पनि हुन्।
आर्टमान्डु नवीनले गायक तथा संगीतकार अंकितबाबु अधिकारीसँग मिलेर स्थापना गरेका हुन्। उनले निर्देशन गरेका सबै गीतका अडिओ-भिडिओसम्बन्धी सबै काम यही भएको हो।
सेतोपाटी गितार सेसनका लागि नवीनले हाम्रो अनुरोधमा लकडाउनको बन्दबीच आर्टमान्डु स्टुडियोबाटै गीत गाएर रेकर्ड गरेको भिडिओ पठाएका छन्।
'अनौपचारिक रूपमा गीत गाउन रमाइलो लाग्छ। तर सार्वजनिक रूपमा गाउँदा अलि नर्भस भइने रहेछ,' उनले अनुभव सुनाए।
अंकितबाबु अधिकारी र सुजन भट्टराईले गितारमा साथ दिएको यो भिडिओमा उनले आफूले निर्देशन गरेका गीतबाहेक केही अन्य गीत पनि गाएका छन्। उनले हालै निधन भएका गायक प्रेमध्वज प्रधानको 'पर लैजाउ फूलहरू' गाएर गायकको स्मरणसमेत गरे।
गायक-गायिकालाई अभिनय गराउने नवीन संगीतप्रतिको प्रेमले नै निर्देशक बनेको बताउँछन्।
'संगीतमा रूचि नभएको भए म निर्देशक नै हुने थिइनँ,' उनले भने, 'गीतको भिडिओ कस्तो बनाउने भन्ने खाका नै गीतको भावबाट बुन्छु।'
नवीन थोरै तर स्तरीय म्युजिक भिडिओ बनाउने निर्देशकमा गनिन्छन्। राम्रो संगीतको मर्म कायम राख्न र गीतलाई अर्थपूर्ण बनाउन म्युजिक भिडिओमा मेहनत गर्नुपर्छ भन्ने उनको भनाइ छ।
पाँचथरमा जन्मेका नवीन इलाममा क्यापस पढ्दा रंगमञ्चमा सक्रिय थिए। उनी रंगमञ्चमा स्थापित हुने सपना बोकेर काठमाडौं आएका थिए। रंगमञ्च वा अरू कलामा लाग्नुअघि आर्थिक रूपमा बलियो बन्नुपर्ने महशुस भएपछि उनी छुर्पी बेच्न थाले। छुर्पी व्यवसायबाट आर्थिक जुगाड भएपछि उनी फेरि कला क्षेत्रमा फर्किएका हुन्।
काठमाडौं आएर उनले कुमार नगरकोटीद्वारा लिखित 'कोमा' नाटकमा साउन्ड अपरेटरका रूपमा समेत काम गरेका थिए।
'इलाम हुँदा सडकमा गीत गाएर मान्छे भेला गरिन्थ्यो,' उनले भने। यसबाहेक उनी हरेक पटक भिडिओ सुट गर्न जाँदा गायन सेसन नै चलाउँछन्। यस्तै सेसन जमेका बेला उनले गीत पनि फुराएका छन्। गितार सेसनमा उनले गाएर सुनाएको 'याक्थुम्बा कान्छी' उनैले रचेका हुन्।
यही सेसनमा उनले आफ्नो जन्मदिनमा क्याम्प फायर गरेका बेला फुरेको गीत पनि सुनाए,
आशा के निराशा
मुस्कुराउनुमा जीवनको परिभाषा
एक वा अर्को तरिकाले संगीतमा जोडिएका नवीन सानैदेखि मेलापातमा गुनगुनाउँथे।
'अहिले पनि मोटरसाइकलमा चर्को स्वरले गाइरहेको हुन्छु। धेरैचोटि साथीहरूले यसरी ठूलो आवाजमा नगाऊसमेत भनेका छन्,' उनले भने।
पूर्वेली लोकभाकाका पारखी उनले आफ्नो चर्चित गीत 'देखेर तिमीलाई' मा पूर्वकै भाका प्रयोग गरेका छन्। व्यवसायिक जीवनमा जस्तै उनको दैनिकीमा पनि संगीतले खास भूमिका खेलेको छ।
भात पकाउँदा वा भाँडा माझ्दा पनि गीत गाइरहने उनी थाहै नपाइ जतिखेरै गुनगुनाइरहने बताउँछन्।
उनले भने, 'लकडाउनका बेलामा संगीतको महत्व झनै बढेको छ। गीत संगीत नभएको भए यस्तो बेला झनै कति बोर लाग्थ्यो होला!'