गितार सेसन
सम्पादकीय नोटः फरक पेसा-व्यवसायमा रहेका तर गीत गाउन सौखिनहरूका लागि हामीले गितार सेसन सुरू गरेका हौं। यो सेसनमा गितार नै बजाउनुपर्छ भन्ने छैन। तपाईंहरूले गीत मात्र गाउन सक्नुहुन्छ वा आफूले जानेका अन्य बाजाहरू पनि बजाउन सक्नुहुन्छ। सेतोपाटी गितार सेसनमा सम्पर्क गर्न इमेल गर्नुहोस्- setopati@gmail.com
कृष्णा खनाल सात/आठ कक्षा पढ्दा पाल्पाको एउटा रेडियो कार्यक्रममा गीत गाउन सहभागी भएकी थिइन्। त्यहाँ उनले गाएको गीत सुनेर सबैले भनेका थिए, 'वाह! कस्तो राम्रो गायौ।'
सानैदेखि गीत गाउन मन पराउने उनी त्यसपछि झनै रमाएर गुनगुनाउन गाउन थालिन्। अंग्रेजी साहित्यमा स्नातकोत्तर सकिसकेकी उनी आजसम्म गुनगुनाइरहेकी छिन्।
पाल्पाको त्यो रेडियो कार्यक्रममा पाएको प्रशंसाले उनलाई गायक बन्ने सपना देखायो। त्यो सपना पूरा गर्न उनी रेडियो नेपालको आधुनिक गायन प्रतियोगिता र एकाध रियालिटी शोमा सहभागी भइन्। एक-दुवटा गीत रेकर्ड पनि भए।
तर धेरै कुराको तालमेल मिलेन। गायक बन्न काठमाडौं आएकी उनी रेडियो प्रस्तोता बनिन्। विगत चार वर्षदेखि उनी इमेज एफएममा आबद्ध छिन्। समाचार पढ्ने काम गर्छिन् र समसामयिक कार्यक्रम पनि चलाउँछिन्।
सेतोपाटी गितार सेसनमा कृष्णाले कुराकानी सुरू गर्दै भनिन्, 'फूल टाइम गायिका बन्न चाहन्थेँ तर अहिले पार्ट टाइम गायिका भएकी छु।'
एफएम रेडियो प्रस्तोता बनेपछि संगीतलाई उनले दिने समय र प्राथमिकता कम भयो। तर संगीत पूर्ण रूपमा भने छुटेको छैन, 'रेडियोमा दिने समयबाहेक सबै समय गाएर बिताइदिऊँ जस्तो हुन्छ।'
जहाँ, जतासुकै गाउने बानीले उनलाई अप्ठ्यारोमा पनि पारेको रहेछ। रेडियो कार्यक्रम सकाएर माइक अफ नगरी गुनगुनाएर उनी कहिले हाँसेकी छन् त कहिले गाली पनि खाएकी छन्। बेलाबेला रेडियो जिंगलमा स्वर दिन्छिन्। सामाजिक सञ्जाल र युट्युबमा पनि कभर गीतहरू गाइरहेकी छन्।
आफ्नो युट्युब च्यानलमा केही भिडिओ राखे पनि उनलाई ट्विटर बढी मन पर्छ। उनले भनिन्, 'गीत गाएको क्लिप राखेपछि ट्विटरमा तुरून्तै आउने प्रतिक्रियाहरू पढ्न पाइन्छ। ट्विटरमा आफूले पछ्याइरहेका सार्वजनिक व्यक्तित्वहरूले समेत प्रतिक्रिया दिनुहुन्छ। रमाइलो लाग्छ।'
कृष्णाको स्वर मीठो छँदैछ, उनको गाउने अन्दाज पनि सिपालु गायिकाजस्तै छ। यही गुणका कारण उनले गीत गाएरै केही प्रशंसक कमाएकी छन्। त्यसैले भन्छिन्, 'ठूलो स्रोता समूहकी गायिका नभए पनि थोरै तर स्तरीय स्रोताले मन पराउनुहुन्छ।'
काठमाडौं आएर उनी रेडियो नेपालद्वारा वार्षिक रूपमा गरिने आधुनिक गायन प्रतियोगितामा दोस्रो बनेकी थिइन्। तर कला क्षेत्रमा लागेर जीवन निर्वाह गर्नसक्ने हैसियत बनाउन धेरै कुराको योग मिल्नुपर्छ।
उनले भनिन्, 'पढाइ र काममा समय दिँदा संगीत कम प्राथमिकतामा पर्यो। समय व्यवस्थापन र प्राथमिकता पनि फेरियो होला।'
२५ वर्षकी कृष्णा आज पनि संगीतमा करिअर बनाउन सकिन्छ कि सकिँदैन भनेर अन्योलमा छिन्। व्यवसायिक रूपमा अघि बढाउन सके पनि, नसके पनि कभर गीत गाउन र आफ्नै गीत रेकर्ड गराउन भने उनी नछोड्ने बताउँछिन्। हाल उनी एक-दुइटा नयाँ गीत रेकर्ड गराउने सोचमा छिन्।
कृष्णाका लागि गीत रेकर्ड हुनु वा नहुनुले मात्र अर्थ राख्दैन। भन्छिन्, 'गीत गाउन पाउँदा जीवनका साना-ठूला झमेला सबै भुलिने भएकाले खासमा म आफ्नै लागि गीत गाउँछु।'