नवीन के भट्टराईले चार वर्षपछि गाएको गीत ‘जान्छु म’ केही साताअघि सामाजिक सञ्जालमा चर्चित रह्यो।
त्यो गीत ‘हिट’ हुनुमा नवीन भट्टराईको पुनरागमन मात्र कारण थिएन। त्यसको छुट्टै विशेषताले पनि दर्शकको ध्यान तानेको थियो।
संगीत क्षेत्रमा दिनदिनै नयाँ प्रविधि प्रवेश हुँदा नवीनले भने पुरानै तरिकाले ‘टेप रेकर्डिङ’ गराएका थिए। दर्शकको निम्ति यही चासोको विषय बन्यो।
अझ रोचक कुरा, अचेल थुप्रै दिन लगाएर, थुप्रै रिटेक लिएर, हरेक संगीतको टुक्राटुक्रा जोड्दै एउटा पूरा गीत तयार पारिने बेला नवीनले यो गीत एकै सटमा रेकर्ड गराएका थिए।
उनले आफ्ना गीतहरू एकै सटमा रेकर्ड गराएको पहिलोचोटि होइन। पुरानै तरिकामा विश्वास राख्ने उनले अधिकांश गीत ‘टेप रेकर्डिङ’ नै गराएका छन्।
‘सांगीतिक दुनियाँमा आएको नयाँ प्रविधिले संगीतको स्तर घटाउँदै लगेको छ,’ नवीन भन्छन्, ‘अहिलेका गीतमा म केही भावना लुकेको पाउँदिन। संगीतको आनन्द तब मात्र आउँछ, जब प्रविधिको फिल्टर नराखी तयार पारिन्छ।’
त्यही भएर हो, नवीन ‘लाइभ कन्सर्ट’ गर्न रुचाउने गायकमध्ये पर्छन्। स्टुडियोको बन्द कोठाभन्दा खुला हलमा दर्शकसामु खुलेर गीत गाउन रमाइलो लाग्ने उनी बताउँछन्।
नेपाली सांगीतिक क्षेत्रमा ‘द किङ अफ पप’ भनेर चिनिने नवीन कुनै समय आफ्ना पप गीतहरूले चर्चामा आएका व्यक्ति हुन्। उनले नेपाली संगीतलाई नयाँ बाटो पनि दिए।
उनी आफ्नो जमानामा युवायुवतीका ढुकढुकी थिए। रेडियो र टेलिभिजिनमा उनकै गीत बज्ने गर्थे। दर्शकको मनमस्तिष्कमा उनकै स्वरको रजाइँ थियो।
आफ्नो पहिलो गीत ‘आँखामा तिमीलाई’ बाट संगीत यात्रा सुरु गरेका नवीन आज पनि दर्शकका प्यारा छन्। उनका अहिलेसम्म रिलिज भएका सबै गीत ‘हिट’ लिस्टमै पर्छन्। ती गीत आजसम्म रेडियो र टेलिभिजनमा बजिरहेको पाइन्छ।
बाल्यकालदेखि संगीतसँग नजिक रहेका नवीनको यो पहिलो गीत सजिलै हिट भएको भने होइन।
खेलकूदमा रुचि राख्ने नवीनले पहिलोचोटि अंग्रेजी ब्यान्ड ‘पिंक फ्लोइड’ को गीत मामाघरमा सुनेका थिए। आफूले सुनिरहेका गीतभन्दा केही फरक पाएपछि उनले ‘बिटल्स’, ‘पिंक फ्लोइड’ र ‘इगल्स’ जस्ता चर्चित ब्यान्डका गीत सुन्दै गाउन थाले।
पप–रक गीतप्रति मोह बढ्दै गएपछि उनले साथीहरूसँग मिलेर ‘द स्टिल ह्विल्स’ ब्यान्ड स्थापना गरे। तर, केही वर्षमै ब्यान्ड बन्द भयो। त्यसपछि नवीनले एकल गायन सुरु गर्ने निर्णय गरे।
एकल गायनको सुरुआतपछि उनले पहिलो गीत ‘आँखामा तिमीलाई’ रेकर्ड गरे। हरेक एफएममा लगेर आफ्नो गीत बुझाए तर कतै बजेन।
एक साँझ दिनेश डिसीको कार्यक्रममा नवीनको गीत बज्यो। उनी खुसी भए। त्यसपछि फेरि कतै उनको गीत बजेन।
यसले आफूभित्रको सांगीतिक आशा मर्दै गएको उनी सम्झन्छन्।
नवीनको सफलताको यात्रा तब सुरु भयो, जब एक व्यक्ति उनलाई खोज्दै घरै आइपुगे। ती थिए, चर्चित गायक प्रनिल तिमिल्सिना।
‘प्रनिलले मेरो गीत सुनेपछि आफूलाई रोक्न नसकेर आएको भन्दा म एकछिन त अलमल्ल परेँ,’ नवीनले भने, ‘उसले गीतको कपी मागेर लग्यो। त्यसपछि बल्ल रेडियो र टेलिभिजिनमा मेरो पहिलो गीत नियमित रूपले बज्न थाल्यो।’
यही घटना नवीनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।
त्यसपछि उनले गाएका हरेक गीत सफल छन्। तीमध्ये ‘तिमी हौ लाखौंको धड्कन’, ‘ए झरी’, ‘साँझपख’, ‘साँझ ढल्दै छ’ लगायत सर्वाधिक चर्चित छन्।
नवीनले गाएका यी गीतले नेपाली संगीत स्रोतालाई नयाँ स्वाद पस्क्यो। उनका गीतहरू नेपालभित्र मात्र होइन, बाहिर पनि उत्तिकै रुचाइए। यसले नेपाली पप संगीत अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुन थाल्यो।
यही लोकप्रियताबीच नवीनले केही वर्ष सांगीतिक क्षेत्रबाट विश्राम लिए।
संगीतप्रतिको गहिरो लगावले नै आफूलाई संगीत क्षेत्रबाट केही समय टाढा रहन बाध्य बनाएको नवीन बताउँछन्।
‘संगीतको मलाई यति लत लागेको थियो, राति निन्द्रामा पनि गितार बजाएको सपना देख्थेँ, बिहान उठ्दा हातको पोजिसन गितार समातेकै हुन्थ्यो,’ उनी भन्छन्, ‘मलाई आफ्नै अवस्था देखेर डर लाग्न थाल्यो। यसबाट अलग रहेर सांगीतिक क्षेत्रका उतारचढावलाई बाहिरबाट नियाल्न केही समय ब्रेक लिने निर्णय गरेँ।’
पन्ध्र वर्षको लगातार गायनपछि चार वर्षको विश्राममा नवीनले संगीतलाई चटक्क भने भुलेनन्। नित्य कर्ममा दृढ उनले सधैँ बिहान–बेलुका तीनचार घन्टा रियाज गरिरहे।
काठमाडौं विश्वविद्यालयबाट ‘एथ्नोम्युजिकोलोजी’ अध्ययन गरेका नवीनले प्रभुराज ढकालको विद्यार्थी रहेर संगीत सिकेका हुन्। उनका प्रायः गीत पप–रक भए पनि नेपाली क्लासिकल गीत उत्तिकै सुन्छन्। नेपाली गायक सुरेशकुमार क्षेत्री, दीप श्रेष्ठ र नारायण गोपाल आफूलाई मनपर्ने उनी बताउँछन्।
उनी संगीतसँगै किताब पनि पढ्न रुचाउँछन्। आफ्ना केही गीत किताबबाट प्रेरित भएर गाएको उनको भनाइ छ।
उनका प्रायः सबै गीतमा माया र प्रेमको भाव झल्केको पाइन्छ। रक–पप संगीत सुमधुर बनाउने क्षमता राख्ने नवीन संगीतले मन छुनैपर्ने मान्यता राख्छन्। त्यसैले पनि उनका गीत सदाबहार मन पराइन्छ।
कन्सर्ट बेला गीत गाइरहँदा स्रोताहरू रोएको क्षण उनी कहिल्यै बिर्सन सक्दैनन्। त्यस्तै क्षणले आफूलाई संगीत क्षेत्रसँग जोडेर राखेको उनी बताउँछन्।
नवीनसँग यस्ता सम्झना थुप्रै छन्।
‘प्रेमपत्र र रगतका चिठी धेरै आउँथे,’ उनी सझिन्छन्, ‘कतै बाहिर गएका बेला फ्यानहरूले देखे भने घेरेर ज्याकेट र टोपी लाने गर्थे। एकचोटि त मेरो लुगा नै च्यातिएको थियो।’
उनले साझा स्मृति अवार्ड, एल्बम अफ द एयर अवार्ड, शिखर हिट एफएम म्यूजिक अवार्ड लगायतका पुरस्कार र सम्मानहरू पाएका छन्।
नवीन नेपाली संगीतको स्थिति देखेर चिन्तित भने छन्। प्रविधिसँगै संगीतमा आएको विकृतिले भोलिका दिनमा राम्रो संगीतको मूल्य नरहने उनी बताउँछन्।
त्यसैले त, उनी आज पनि पुरानै प्रविधिमा गीत रेकर्ड गरिरहेका छन् र सकेसम्म ‘लाइभ शो’ वा कन्सर्टमै देखिने गर्छन्।
अहिले मुकुट ब्यान्डसँग संलग्न भइ थुप्रै कन्सर्टमा व्यस्त रहेको उनले बताए।