सिनेकर्मः सम्पादन
‘ठग्स अफ हिन्दोस्तान’ ठूलो बजेटको फिल्म थियो, फ्लप भयो।
अमिताभ बच्चन र आमिर खान अभिनित यो फिल्म नचल्नुमा समीक्षकहरूले धेरै कमी–कमजोरी औंल्याए। कतिले नयाँपनको अभाव देखे, कतिले पटकथालाई दोष दिए।
बिपिन मल्ल भने सम्पादनको त्रुटिले फिल्म बिग्रेको बताउँछन्।
‘सम्पादकलाई फिल्मको सस्पेन्स कति बेला राख्ने र कति बेला पर्दाफास गर्ने ख्याल हुनुपर्छ,’ लामो समयदेखि नेपाली फिल्म सम्पादन गर्दै आएका बिपिन भन्छन्, ‘ठग्स अफ हिन्दोस्तानमा जे कुरा सस्पेन्स राखिनुपर्थ्यो, त्यो पहिल्यै खुलाइयो।’
उनले फिल्म हेर्दाहेर्दै दिमागमा आफ्नै तरिकाले यसको सम्पादन गरे।
उनको कल्पनामा फिल्मको सुरूआत पानीजहाजबाट हुन्छ। जहाँ अमिताभ र फतिमा शेख खुंखार डकैतका रूपमा देखिन्छन्।
उनीहरूको डकैतबाट अंग्रेज सत्ता हायलकायल छ। यो जोडी तोड्न आमिर खानको प्रवेश हुन्छ। आमिरलाई स्वतन्त्रता संग्रामको गोप्य अभियानमा सामेल गराउन अमिताभ ‘फ्ल्यास ब्याक’ मा जान्छन्। जसमा उनको दरबारी सम्बन्ध खुल्छ।
‘अमिताभलाई कुनै राज्यको सेनापतिभन्दा समुद्री डकैतका रूपमा देखाएर पछि सस्पेन्स खोलेको भए फिल्मको न्यारेटिभ अहिलेभन्दा रुचिपूर्ण हुन सक्थ्यो,’ बिपिन भन्छन्।
बिपिन सिनेमाका त्यस्ता प्राविधिक हुन्, जो निर्देशक र छायाँकारले खिचेर ल्याएका दृश्यसँग खेल्छन्, जसलाई ‘सम्पादक’ भनिन्छ।
‘सम्पादक’ भन्नेबित्तिकै धेरैले पत्रकारितासँग जोडेर हेर्छन्। जो समाचार, लेख–रचना काँटछाँट गरेर प्रकाशनयोग्य बनाउँछ। संवाददाताहरूले ल्याएका रिपोर्ट कसरी लेख्ने र कसरी प्रस्तुत गर्ने निर्क्यौल गर्छ।
फिल्ममा त निर्देशक नै कप्तान। प्रस्तुति शैली निर्देशक र लेखकले टुंगो लगाइसकेका हुन्छन्। त्यसैबमोजिम कलाकारले अभिनय गर्छन्। छायाँकारले खिच्छन्। फिल्म राम्रो वा नराम्रो हुनुमा सम्पादकको के भूमिका?
‘तपाईंहरूको पत्रकारितामा रिपोर्टरले लेखेको समाचार छरितो बनाउने वा लेखन शैली उल्टोपाल्टो पार्ने काम सम्पादकले गरेजस्तै फिल्ममा निर्देशकले सुटिङ सकेर भएभरका दृश्य हाम्रो अगाडि ल्याइदिन्छ,’ उनी भन्छन्, ‘हामी त्यसबाट चामल निफनेजस्तै राम्रा दृश्य छाँट्ने र सलल बग्ने गरी जोड्ने काम गर्छौं।’
उनका अनुसार कथा भन्ने शैली नै उल्ट्याउने काम धेरै सम्पादकले गर्दैनन्।
सुटिङ सकिसकेको फिल्मलाई नयाँ ढंगमा कथावाचन गर्ने हो भने कतिपय दृश्य दोहोर्याएर खिच्नुपर्ने हुन्छ। कतिपय ठाउँमा नयाँ दृश्य थप्नुपर्छ। सामान्य अवस्थामा त्यो सम्भव हुँदैन।
तै खिचेर ल्याएका दृश्य जोड्दा अढाई घन्टासम्म दर्शकको ध्यान भट्किन नदिने खुबी दक्ष सम्पादकको चिनारी हो।
‘दर्शकलाई सिनेमाहलको अँध्यारो कोठामा अढाई घन्टा हलचल नगराई राख्न सक्नु नै सम्पादकको जित हो,’ हाल ‘कालापानी’ को पोस्ट–प्रोडक्सनमा व्यस्त बिपिन भन्छन्, ‘यसको निम्ति कथावस्तु र अभिनय मात्र दमदार भएर पुग्दैन, सम्पादन पनि छरितो हुनुपर्छ।’
फिल्म भनेको दृश्य हो। दृश्यमा गति हुन्छ। गतिले नै फिल्मको चाल तय गर्छ।
फिल्म निर्माणमा सबभन्दा पहिला कथाको मसिनो धर्सो बुनिन्छ। त्यही धर्सोमा पात्र, परिवेश र भाव मिसाएपछि पूर्ण कथावस्तु तयार हुन्छ। निर्देशकले त्यसलाई दृश्यमा उतार्छ। त्यसपछि फिल्मको भाव र मर्म पक्रेर दृश्यहरूलाई गति दिने काम सम्पादकको हो।
कुनै फिल्म विषयवस्तु राम्रो हुँदाहुँदै अनावश्यक दृश्यको खातले पट्टयारलाग्दो बन्छ। लेखन क्रममै जानी–नजानी यस्ता दृश्य जोडिन सक्छन्, जसले फिल्मको गति बिथोल्छ। ती दृश्य हटाइदिँदा पनि मूल कथावस्तुलाई कुनै प्रभाव पर्दैन।
कहिलेकाहीँ पटकथा राम्रो लेखिएको भए पनि सुटिङ क्रममा अनेक त्रुटि हुन्छन्। कति दृश्यले फिल्मलाई सलल बगाउनुको साटो अड्काउने काम गर्छ। भात खाँदा दाँतमा ढुंगा परेजस्तो।
सम्पादकले तिनै दृश्य छाँटेर फिल्मलाई लयबाट भट्किन नदिने काम गर्छ।
‘हुन त मुख्य जिम्मेवारी निर्देशककै हो। तर, लेखन, कलाकार छनौट, छायांकन लगायत फिल्मका सबै पक्षमा संलग्न हुँदाहुँदा निर्देशक यति भिजिसकेको हुन्छ, उसले गल्ती ठम्याउन सक्दैन,’ बिपिन भन्छन्।
‘घामपानी, भोकप्यास केही नभनी लिएका प्रत्येक दृश्य उसलाई प्यारो हुन्छ। सुटिङ गर्दाको अप्ठ्यारो र मिहिनेत सम्झेर ऊ कुनै पनि दृश्य काट्न वा फाल्न चाहँदैन।’
सम्पादक भने सुटिङका दुःखसँग बेखबर रहन्छ। दृश्यहरूसँग उसको भावना जोडिएको हुँदैन। त्यसैले, ऊ स्वतन्त्र रूपले दृश्यको भावनामा घोत्लिन सक्छ। पटकथा लेखन क्रममा बढी भएका दृश्य छाँटेर सलल बग्ने गरी कथावाचन गर्ने खुबी राख्छ।
फिल्मको लयसँग दृश्यको तारतम्य मिलेको छ कि छैन भनेर निर्देशकलाई सुझाउने काम सम्पादकको हो। तर, अन्तिम निर्णय निर्देशककै हुन्छ।
सम्पादकको अर्को महत्वपूर्ण काम हो, कुन दृश्य कहाँबाट सुरु गर्ने र कहाँ लगेर अन्त्य गर्ने? यसलाई सिनेमाको भाषामा ‘कट’ भनिन्छ।
एउटा दृश्यको अन्त्य र अर्को दृश्यको सुरूआतबीच संयोजन मिल्यो भने बल्ल सिनेमा हेर्दा सलल बगेजस्तो लाग्छ। सम्पादकको खुबी यहीँनिर झल्किन्छ।
‘सम्पादक भनेका फिल्मका प्रथम दर्शक हुन्। जुन दृश्य हामीलाई बिझाउँछ, त्यो दर्शकलाई पनि बिझाउने सम्भावना धेरै हुन्छ,’ बिपिन भन्छन्, ‘हामी त्यस्ता काँडा झिक्ने कोशिश गर्छौं।’
यसको मतलब, फिल्म सम्पादकको काम सुटिङ गरेर ल्याएका दृश्यमध्ये राम्रा राम्रा छानेर जोड्ने मात्र होइन। ती दृश्य फिल्मको लयसँग मिलेको छ कि छैन छुट्टयाउने र नमिलेको भए आफ्नो बूताले भ्याएसम्म मिलाउने पनि हो। त्यही भएर सम्पादकलाई फिल्मको दोस्रो निर्देशक पनि भनिन्छ।
यति हुँदाहुँदै नेपालमा फिल्म सम्पादनको स्तर बढ्न सकेको छैन।
विदेशतिर सम्पादन क्रममा गल्ती–कमजोरी भेटिए पुनः सुटिङ गर्ने वा नयाँ ढंगले दृश्य संयोजन गर्ने चलन छ। नेपालमा भने बजेट अभावले यस्तो हुन सकेको छैन।
‘नेपालमा फिल्मको बजेट निकै कम हुन्छ। त्यही भएर सम्पादन क्रममा गल्ती भेटिए पनि फेरि सुटिङमा पठाउन सकिन्न। यसले सीमाभन्दा बढी बजेट खर्च हुन्छ, जुन निर्माताले धान्न सक्दैन,’ २० वर्षदेखि नेपाली फिल्म सम्पादन गर्दै आएका वरिष्ठ सम्पादक बनिस शाह भन्छन्।
यही समस्याले सम्पादन कक्षमा बसेर स्वतन्त्र ढंगले दृश्य काँटछाँट गर्न प्राविधिक कठिनाइ हुने उनको भनाइ छ।
‘फिल्ममा समस्या छ भन्ने हामीलाई थाहा हुन्छ। यसको जानकारी पनि दिन्छौं। हामीले सुटिङ गरेर ल्याएका दृश्यबाट सकेसम्म राम्रो बनाइदिने हो, तर कुनै दृश्यको सुटिङमै समस्या छ भने कसरी राम्रो बनाउने?’ उनी भन्छन्।
कतिपय अवस्थामा फिल्मलाई नभई नहुने दृश्य सेन्सर बोर्डले काटेर फाल्दा पनि संयोजन नमिल्ने गरेको उनको भनाइ छ।
बिपिन भने सम्पादन क्रममा कतिपय दृश्य पुनः सुटिङ गर्न पठाएको अनुभव पनि सुनाउँछन्।
‘निर्देशकसँग तालमेल मिलेको छ भने काम गर्न सजिलो हुन्छ। उनीहरू हाम्रो सुझाव मानेर सानातिना दृश्य फेरि सुटिङ गरेर ल्याउँछन्,’ उनी भन्छन्, ‘मैले काम गरेका फिल्ममा धेरैचोटि यस्तो भएको छ। आनका तान फरक पर्ने गरी भने मिलाउन सकिन्न।'
एक-डेढ महिना सुटिङ गरेर खिचेको दस–बाह्र घन्टाको दृश्यलाई सम्पादन कक्षबाट अढाई घन्टाको फिल्ममा रूपान्तरण गर्न एकदेखि डेढ महिना लाग्ने उनी बताउँछन्।
यो पनि हेर्नुहोस्: