अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत फिल्म 'जेरी अन टप' शुक्रबारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। एड्भेन्चर लभस्टोरी यो फिल्मले प्रदर्शनको पहिलो दिनबाटै दर्शकको राम्रो साथ पाइरहेको छ। 'वर्ड अफ माउथ' सकारात्मक आउँदा फिल्मले तिहार बिदाको राम्रो फाइदा उठाएको छ।
'जेरी अन टप' ले दोस्रो सातामा पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ। शुक्रबार, दोस्रो साताको पहिलो दिन फिल्मको व्यापार काठमाडौंसहित देशैभर उत्साहजनक छ। धेरै शोहरू शो समय भन्दा अगाडि नै 'हाउसफुल' देखिएका छन्।
निर्माता सरोज न्यौपाने शुक्रबार फिल्मले करिब एक करोड रूपैयाँ ग्रस कलेक्सन गर्न सक्ने आँकलन गर्छन्। उनले भने, 'देशैभर एकदमै राम्रो व्यापार छ। आजको कलेक्सन करोड हाराहारी हुनसक्छ।'
निर्माता न्यौपानेको दाबीअनुसार फिल्मले पहिलो साता पाँच करोड रूपैयाँ ग्रस कमाइ गरेको छ।
सुपरहिटको ट्याग
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले 'जेरी अन टप' लाई 'सुपरहिट' को ट्याग दिइसकेको छ। फिल्म प्रदर्शनको छैटौं दिनमै क्युएफएक्सले आफ्नो वेबसाइटमार्फत यस्तो ट्याग दिएको थियो। यो वर्ष नेपाली फिल्मको सन्दर्भमा वैशाखमा रिलिज भएको 'ऊनको स्विटर' ले मात्र यस्तो ट्याग पाएको थियो। यद्यपि, सो फिल्मले एक सातापछि मात्रै सुपरहिटको मान्यता पाएको थियो।
यसर्थ, क्युएफएक्समा रिलिजको एक साताभित्रै सुपरहिटको मान्यता पाउने 'जेरी अन टप' यस वर्षको पहिलो नेपाली फिल्म बनेको छ।
सुयोग गुरूङको निर्देशनमा बनेको यो फिल्मले सगरमाथा आरोहण र त्यसक्रमको त्रिकोणात्मक प्रेमकथालाई मुख्य विषय बनाएको छ। जेरीको सगरमाथा आरोहण र त्यसबीचमा उत्पन्न हुने आरोह अवरोहको परिवेश नै फिल्मको कथा हो।
भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तसहितका कलाकारहरू पनि फिल्ममा प्रमुख भूमिकामा छन्।