सिनेकर्म: ट्रेलर कटर
हेर्दै नहेरेको फिल्मको कथा सुन्न कतिलाई झिँझो लाग्ला, कति त्यसैमा झुम्मिन्छन्।
झिँझो लाग्नु वा झुम्मिनु, यसैमा कथावाचकको ज्यान छ।
कुशल कथावाचकको फेला पर्नुभयो भने, कतिखेर नङ टोक्दै एकोहोरिन थाल्नुहुन्छ पत्तै पाउनुहन्न। कतिखेर तपाईंको मुखबाट ‘अनि... अनि के भयो?’ फुस्किन्छ होसै हुन्न।
त्यस्ता वाचकलाई थाहा हुन्छ, श्रोतालाई कति सुनाउने? कति नसुनाउने? कुन कुन ‘टर्निङ प्वान्ट’ खुलाउने? कहाँ कहाँ ‘सस्पेन्स’ राख्ने?
कौतूहल जगाउने गरी खोल्ने, व्यग्रता बढाउने गरी छोप्ने– यही कथावचकको खुबी हो।
सिनेमाको ‘ट्रेलर’ बनाउने प्राविधिकहरूमा यही खुबी भरमार हुनुपर्छ भन्छन्, साहिल खान।
साहिल नेपाली फिल्मका व्यस्त ‘ट्रेलर कटर’ मध्ये एक हुन्।
ट्रेलर कटर, अर्थात् फिल्मका दृश्य यताबाट उता, उताबाट यता काटकुट पार्दै, जोडजोड गर्दै, त्यसमा आफ्नो एनिमेसन खुबी भरभार पारेर सिनेमाको विज्ञापन बनाउने प्राविधिकहरू।
‘साढे दुई घन्टा लामो फिल्मको भाव पक्रेर त्यसलाई अढाई–तीन मिनेटमा सही ढंगले प्रस्तुत गर्नु नै हाम्रो खुबी,’ हालसालै रिलिज भएको ‘क्याप्टेन’ फिल्मका ट्रेलर कटर साहिल भन्छन्।
पहिले सिनेमाको प्रचार भन्नु पोस्टर टाँस्नु वा टेम्पो माइकिङ। अचेल यतिले पुग्दैन।
पोस्टर टाँस्नु भनेको सहर कुरुप पार्नु। सहरको स्वरुप बिगार्ने गरी प्रचार गरेको सिनेमालाई दर्शक बरु नकार्लान्, स्वीकार्दैन। अनि सहरको कोलाहलबीच सिनेमाको माइकिङले कान खाने भइहाल्यो।
यसैले ल्यायो, ट्रेलरको जमाना।
कुरो यति मात्र होइन। संसारभरि सिनेमाको अर्थशास्त्र फेरिएको छ। ठूलो लगानीमा फिल्म बन्छ। रिलिज भएको पहिलो सप्ताहन्त नसकिँदै लगानी उठाइहाल्नुपर्ने दबाब छ। फिल्म नराम्रै भए पनि मुखामुख नराम्रो प्रचार हुनुअघि गोजीमा लगानी भित्र्याइहाल्न पाए निर्मातालाई सन्चो।
निर्माताको गोजीमा ‘सन्चो’ मह्लम दलिदिने बिँडो उठाउन आफैं असन्चो हुने गरी धुइँपत्ताल घोटिन्छन् ट्रेलर कटरहरू।
उनीहरू निर्देशक र कलाकारले सुटिङ सकेपछि, एकसरो सम्पादन पनि भ्याएपछि तयार भएको पहिलो ‘मस्यौदा’ प्रिन्टमा खेल्छन्। त्यसलाई दोहोर्याइ, तेहर्याइ हेरेको हेर्यै गर्छन्। सिनेमाको कथा नखुल्ने, लय लथालिंग नहुने र भाव पनि नभुल्ने गरी आफ्नै पारामा कथा बुन्छन्। दृश्य काटकुट र जोडजाड पार्छन्, अनि ट्रेलर बनाउँछन्।
‘ट्रेलर बनाउने काम सुन्दा जति छिटो र सजिलो देखिन्छ, त्यति नै गाह्रो छ,’ साहिल भन्छन्, ‘फिल्मलाई कयौंपटक हेरेर राम्रो सट खोजखाज पारी विषयवस्तु प्रस्तुत गर्नु चुनौतीपूर्ण काम हो।’
उनका अनुसार एउटा फिल्मको ट्रेलर बनाउन कम्तीमा दुई साता लाग्छ। अढाई मिनेटको भिडियोले अढाई घन्टा लामो फिल्मको भविष्य तय गर्ने हुँदा निर्माता, निर्देशकहरू ट्रेलरको गुणस्तरमा सम्झौता गर्न नचाहने उनी बताउँछन्।
नेपालमा ‘ट्रेलर कटर’ प्राविधिकहरू एकदमै कम छन्। मुश्किलले छ जना। ती पनि पूर्णकालीन ट्रेलर कटर होइनन्। धेरैजसो फिल्म सम्पादन गर्नेले नै ट्रेलर बनाउने गर्छन्। साहिल आफैंमा फिल्म सम्पादक हुन्।
उनी फिल्ममा काम गर्ने सपना बोकेर कपिलवस्तुबाट काठमाडौं आएका थिए। ऐरेना मल्टिमिडिया कलेजमा फिल्म सम्पादन पढे। पढ्दापढ्दै ताल म्युजिकमा भिडियो सम्पादकका रूपमा काम गरे।
‘त्यसपछि फिल्म सम्पादक बिपिन मल्लसँग सम्पादन र पोस्टर डिजाइनको काम सिक्न पाएँ,’ उनले भने, ‘सुरुमा उहाँकै करमा ट्रेलर बनाएँ, विस्तारै रुचि बढ्दै गयो।’
‘फेसबुक’ फिल्मबाट ट्रेलर बनाउन सुरु गरेका साहिलले सन् २०१६ मा ‘भैरव’ को ट्रेलरका लागि ‘एलजी फिल्म अवार्ड’ जितेका थिए।
आफ्नो कामले राम्रो प्रतिक्रिया पाउन थालेपछि उनले छुट्टै एजेन्सी खोल्ने निर्णय गरे– मुभी फ्याक्ट्री।
एजेन्सी त खोले, तर एक वर्षसम्म कतैबाट काम आएन। यसबीच फिल्म प्रचारमा ट्रेलर यस्तरी नभइनहुने भयो, उनलाई काम भ्याइनभ्याइ हुन थाल्यो।
पहिलो ट्रेलर बनाउँदा पाँच हजार रुपैयाँ पारिश्रमिक लिएका साहिल अचेल एउटै फिल्मको ८० हजारसम्म लिन्छन्। ‘ड्रिम्स’ फिल्मको ट्रेलर सुपर हिट भएपछि माग ह्वात्तै बढेको उनी बताउँछन्। उक्त ट्रेलर युट्युबमा एकैदिन डेढ लाखचोटि हेरिएको थियो।
नेपालमा बन्ने फिल्ममध्ये ७० प्रतिशतको ट्रेलर आफूले बनाएको उनी दाबी गर्छन्। तीमध्ये ‘नाई नभन्नु ल– २ र ३’, ‘लिली बिली’, ‘सायद’, ‘बाटोमुनिको फूल’ का ट्रेलर खुब रुचाइएका थिए।
पछिल्लो समय ट्रेलर कटर फिल्म निर्माणको एक महत्वपूर्ण विधा बनिसकेको लामो समयदेखिका फिल्म सम्पादक विपिन मल्ल बताउँछन्। साहिलले ‘गुरु’ मान्ने उनी छक्कापन्जा शृंखलासहित दर्जनौं सिनेमाका सम्पादक हुन्।
हाल ‘कालापानी’ को पोस्ट–प्रोडक्सनमा व्यस्त बिपिन ट्रेलर कटरलाई सम्पादनकै एक अंगका रूपमा लिन्छन्।
निर्देशकले सुटिङ स्थलबाट खिचेर ल्याएको चार–पाँच घन्टाको फुटेजलाई कथावस्तु सलल बग्ने गरी साढे दुई घन्टामा बाँध्ने काम फिल्म सम्पादकको हो। त्यही साढे दुई घन्टाको सिनेमालाई साढे दुई मिनेटको छोटो रूप दिने काम ट्रेलर कटरले गर्छ।
‘ट्रेलर कटरलाई सम्पादनको ज्ञान हुनैपर्छ,’ उनी भन्छन्, ‘जसरी निर्देशकले खिचेर ल्याएका दृश्य काँटछाँट गरेर हामी भरिलो र रसिलो बनाउँछौं। हामीले तयार पारेको प्रिन्टलाई बिल्कुलै नयाँ शैलीमा काँटछाँट गरेर अढाई–तीन मिनेटमा झार्ने काम ट्रेलर कटरले गर्छ।’
हलिउड र बलिउडमा समेत धेरै फिल्म सम्पादकहरूले नै ट्रेलर कटरको काम गर्दै आएको जानकारी दिँदै उनले विस्तारै यो छुट्टै पूर्णकालीन विधाका रूपमा विकास भइरहेको बताए।
उनका अनुसार पूरै फिल्म सम्पादनमा बसेको मान्छेले नै ट्रेलर बनाउँदा न्याय नहुन सक्छ।
‘जसरी निर्देशकलाई आफूले खिचेका सबै दृश्यको मोह हुन्छ, त्यस्तै सम्पादकलाई आफूले तयार पारेको फाइनल प्रिन्टसँग लगाव हुनसक्छ। यस्तोमा उसले थप काँटछाँट गरेर छोटो रूप दिँदा न्याय नगर्नसक्छ,’ बिपिन भन्छन्, ‘छुट्टै मान्छेले यो काम गर्ने हो भने उसले ट्रेलर निम्ति आफ्नै ढंगले कथावाचन गर्न सक्छ। कतिपय दृश्य ट्रेलर निम्ति मात्रै भए पनि सुटिङ गर्न सुझाउन सक्छ।'
ट्रेलर कटरमा भिडियो लगायत सम्पूर्ण प्रचार सामग्री तयार पार्ने विशेषज्ञता भए ‘सुनमा सुगन्ध’ हुने उनको भनाइ छ।
एउटा फिल्मको ट्रेलर दुई सातामै बन्ने हुँदा यही मात्र काम गरेर जीविका नहुन सक्छ। फिल्मको निम्ति सिर्जनात्मक बजार प्रवर्द्धन योजना बनाउने, फिल्मी गीतको अलग्गै म्युजिक भिडियो तयार पार्ने, होर्डिङ बोर्ड, थिएटर पोस्टर लगायत प्रचार सामग्री डिजाइनमा संलग्न हुन सके यसलाई अलग्गै विधाका रूपमा विकास गर्न सजिलो हुन्छ।
बिपिनका अनुसार ट्रेलर कटरमा फिल्मको ‘मुड’ पक्रने खुबी हुनुपर्छ। राम्रो ट्रेलर त्यही हो, जुन फिल्मको लयभन्दा बाहिर जाँदैन।
‘थ्रिलर फिल्म छ भने ट्रेलर हेर्दा नै दर्शकलाई थ्रिल गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘कमेडी फिल्मको ट्रेलर सिरियस मुडमा बनायो भने के होला?’
यति मात्र होइन, कुनै एउटा ग्ल्यामर दृश्य पक्रेर त्यसैका भरमा ट्रेलर बनाउँदा फिल्मलाई समेत न्याय नहुने उनको भनाइ छ। यही तालमेल नमिल्दा कतिपय फिल्मको दाँजोमा ट्रेलर मात्र राम्रो भएको गुनासो सुनिन्छ।
ट्रेलर तयार गर्दा जति प्रशंसा कमाइन्छ, उत्तिकै आलोचना पनि खेप्नुपर्छ। बलिउड र हलिउडसामु नेपाली फिल्मको ट्रेलर स्तरीय हुन नसकेको भन्दै कतिपय दर्शकले आलोचना गरिरहेका हुन्छन्।
साहिल यसमा सहमत छैनन्।
‘नेपाली फिल्मप्रति दर्शकको आशा धेरै बढेकाले चित्त बुझाउन गाह्रो भएको हो,’ उनी भन्छन्, ‘ट्रेलर सरल भए फिल्मको कथा सबै बुझियो भनिन्छ, अलिकति सिर्जनशील हुन खोजे केही बुझिएन भन्ने गुनासो आउँछ।’
‘हामीले ट्रेलरमा जे बुझाउन खोजेका हौं, दर्शकले त्यति मात्र देख्छन्। यसले फिल्मको कथा बुझाउने होइन, फिल्मको भाव पक्रेर के विषयमा बनेको हो, त्यो मात्र देखाउने हो,’ उनी भन्छन्।
ट्रेलरको भरमा फिल्म कस्तो छ भनेर निर्णय लिनु नै गल्ती भएको उनको भनाइ छ।
यति हुँदाहुँदै ट्रेलरले फिल्मप्रति आशा भने बढाएकै हुन्छ। त्यो आशामा फिल्म खरो उत्रिएला कि नउत्रिएला भन्ने चुनौती ट्रेलर कटरहरूलाई सधैं रहन्छ।