गण्डकी प्रदेश स्तरीय पर्यटकीय फोटो प्रतियोगितामा मेरिट महर्जन र प्रकाश बुढा छुट्टाछुटै विधामा प्रथम भएका छन्।
पर्यटकीय गतिविधितर्फ मेरिट महर्जनले खिचेको कास्कीको माछापुच्छ्र्रे हिमालको तस्वीर प्रथम भएको छ भने पर्यटकीय गन्तव्यतर्फको विधामा प्रकाश बुढाले खिचेको मनाङको ब्राका गाउँको तस्वीरले प्रथम पुरस्कार पाएको छ। उनीहरूले नगद ३०/ ३० हजार जित्न सफल भएका छन् ।
मनाङको बाक्रा गाउँगण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेशको पर्यटकीयस्थल र पर्यटकीय उत्पादनसहितको प्रोफाइल तयार गर्ने उद्देश्यले भएको प्रतियोगितामा पर्यटकीय गतिविधितर्फको विधामा देव डंगोलले खिचेको कास्कीको धम्पुसको तस्वीर दोस्रो, आदित्य चन्दको मुस्ताङको घोडचढीको तस्वीर तेस्रो भयो।
यस विधामा देव डंगलको हिमचुली हिमालमुनि स्की गरेको तस्वीर चौंथो र गोलमान गुरुङको पर्वतमा क्यानोनिङ गरेको तस्वीर पाँचौं भएको छ ।
यसै गरि पर्यटकीय गन्तव्य विधातर्फ क्रमश: उमिद शाक्यले मुस्ताङको झारकोटमा खिचेका तस्वीर द्वितीय, महेन्द्र गुरुङले खिचेको कोरीगाउँको तस्वीर तृतीय र सिरिस विसी काठमाडौंले खिचेको मनाङको फु गाउँको तस्वीर चौंथो भएको छ । पोखराका रोहित गिरीले खिचेको शान्तिस्तुपाको तस्वीरले पाँचौं स्थान हासिल गरेको छ।
नेपाल पर्यटन बोर्डको सहयोग र फोटो पत्रकार क्लब नेपालको प्राविधिक सहयोगमा भएको प्रदेशस्तरीय फोटो प्रदर्शनीमा विजेता प्रथम, द्वितीय र तृतीयले क्रमश: ३० हजार, २० हजार, १५ हजार र प्रमाण पत्र पाउने छन्। चौंथो हुनेले सान्त्वना स्वरुप दश हजार र प्रमाण पत्र पाउने छन्।
फोटो प्रतियोगितामा पर्यटकीय गतिविधि विधामा १ सय १९ र पर्यटकीय गन्तव्य विधामा ३ सय ३९ फोटो प्रतियोगितामा परेका थिए। ती मध्येबाट उत्कृष्ट पाँच जना छनोट भएको फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्कीले बताए। पाँच जनाको मूल्याङ्कन समितिले पुरस्कारका लागि फोटो सिफारिस गरेको उनले बताए।
मुस्ताङको घोडचढी
हिमचुली हिमालमुनि स्की
मनाङको फु गाउँ
मुस्ताङको झारकोट
कोरीगाउँको तस्वीर