मजदुर दिवसका दिन मंगलबार राजधानीमा छायाँछवी क्रियशनको आयोजना गरेको छायाँछवी काव्य सृङखलाको सातौं संस्करणमा सुदूरपश्चिमेली कवि हेमन्त विवशले गरिब, दुःखी र मजदुरका पिडा ओकलेर सुन्ने सबैको मन जितेका छन्।
प्रश्न शीर्षक कविताबाट वाचन सुरु गरेका विवशले देशको खोजी, तम्रो राज्य, आँधीहुरी, कतारको रैबार, गोसाइँ तमिले कस्तो मुटु बोकेका छौ ?, घमन्ड, सुकुम्बासी सपना, हली लगायत शीर्षकका कविता सुनाएका थिए । त्यसैगरी उनले स्रोताको माग अनुसार फर्किन्छु चाँडै घर, वैशाख आउ तिमी लगायत छन्दोबद्ध कविता समेत वाचन गरे।
सुदूरपश्चिमको डोटीमा जन्मे/हुर्केका विवशका सृजनामा आञ्चलिकताको स्वाद पाइन्छ । भुइँ मान्छेका पक्षमा आवाज उठाउँदै आएका विवश लोकतन्त्रवादी कवि हुन् । उनका कविता सुनेपछि कार्यक्रमका बिशेष अतिथि संगीतकार बुलु मुकारुङले भने, ‘विम्ब, प्रतिक र भावनाका दृष्टिले विवशका कविता उत्कृष्ट छन् ।’
छायाँछवीको सृङखलामा दुई जना स्रष्टाका रचना सुन्ने परम्परा छ । त्यही अनुसार विवशसंगै गजलकार सीता प्याकुरेलले पनि आफ्ना १० वटा रसिला गजल वाचन गरेर सबैलाई मन्त्र मुग्ध बनाइन् । उनको सृजनशील भबिश्य सुखद रहेको संगीतकार मुकारुङको टिप्पणी छ ।
‘नेपाली साहित्य कला र संस्कृतिको उत्थान, छायाँछवी काव्य सृङखला हाम्रो बेग्लै अभियान’ नाराका साथ क्रियशले स्रष्टालाई मञ्च प्रदान गर्दै आएको त्यसका अध्यक्ष शान्तिप्रियले बताए ।
त्यस्तै छायाँछवि क्रियशनका अध्यक्ष तथा गीतकार शान्तिप्रियले कार्यक्रममा शुत्रधारको भूमिका निर्वाह गर्दै कुनै पनि क्षेत्रलाई चलायमान बनाउन सकिए मात्र त्यस क्षेत्रको समृद्धि हुने बताए । साहित्य, संगीत र चलचित्र एउटै कितावका पत्ताहरु भएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथी संस्कृतिविद एवं संगीतकार बुलु मुकारुङले श्रष्टाका कविता र गजल माथि टिप्पणी गरेका थिए । अतिथी बुलु मुकारूङले यस किसीमको आयेजनाबाट कार्यक्रम उत्कृष्ट भएको बताए । त्यस्तै कार्यक्रममा अर्का विशिष्ट अतिथी विश्वकै कान्छा निर्देशक सौगात विष्टले श्रष्टाद्वयलाई शुभकामना दिएका थिए। विष्टले कार्यक्रममा छोटा दुई रचना पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य गर्दै मुक्तककार/साहित्यकार एवं कार्यक्रमकी संयोजक रश्मी रोदनले कार्यक्रमको औचित्यवारे प्रकाश पारेकी थिइन् । उनले स्वागत मन्तब्यमा साहित्य, संगीत र चलचित्रको समायोजन गर्दै यस किसीमको क्रियाशिलता अगाडि बडाएको बताइन् ।