न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
पोखरा रंगशालास्थित कभर्डहलमा बुधबार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै दुवै टिम समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
पुलिसले स्टेप रामपुरलाई ३–० को सेटमा हरायो । एकतर्फी जित निकाल्ने क्रममा पुलिसले रामपुरलाई २५–७, २५–९ र २५–९ को सेटमा हरायो । न्युडायमण्डले समेत सहज जित निकाल्ने क्रममा गण्डकीलाई २५–८, २५–१० र २५–१२ को सेटमा हरायो ।
समूह चरणका सुरुआती दुई खेलमा शतप्रतिशत जित निकाल्दै पुलिस र न्यु डायमण्डले सेमिफाइनलमा सहज स्थान बनाएका हुन् ।
नेश्नल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष दिपक कोईरालाले जानकारी दिए ।