नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी सशस्त्र प्रहरी बलको एपिएफ क्लब छाडेर अस्ट्रेलिया गएकी छिन्।
सरस्वती यसअघि पनि अस्ट्रेलियाबाट पोखरामा आयोजना भएको टाइगर कप खेल्न फर्किएकी थिइन्।
टाइगर कप सकिएसँगै सरस्वतीलाई एपिएफको भलिबल टोलीका खेलाडीहरूले विदाइ गरेका थिए। विदाइमा सरस्वती भक्कानिएको भिडिओ उनका साथीहरूले सामाजिक सञ्जालमा राखेका छन्।
उनले एपिएफबाट राजीनामा दिएपछि अस्ट्रेलिया गएकी हुन्। टाइगर कप खेल्नुअघि सरस्वतीले अस्ट्रेलियामा नेपाली समुदायले आयोजना गरेको भलिबल प्रतियोगिता खेलेकी थिइन्। त्यतिबेला युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरस्वती अस्ट्रेलिया पलायन भएको भन्दै चिन्ता व्यक्त गरेका थिए।
नेपाल एपिएफ क्लबमा १२ वर्ष विताएकी सरस्वतीले सन् २०१३ मा राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्।
पछिल्लो समय फुटबल र क्रिकेटका राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइरहेको बेला अहिले भलिबलका खेलाडी पनि अस्ट्रेलिया पलायन भएका छन्। यस्तै तेक्वान्दोका पनि दर्जानौं खेलाडी हाल अस्ट्रेलियामा छन्।
अस्ट्रेलिया पुगेका केही फुटबल खेलाडी अहिले नेपालमा आयोजना भएको घरेलु प्रतियोगिता खेल्न फर्किएका छन्। सरस्वतीले पनि राष्ट्रिय टोलीमा स्थान पाए खेल्न नेपाल फर्किने बताइएको छ।
सरस्वतीको बारेमा पाँच वर्षअघि सेतोपाटीमा प्रकाशन भएको फिचर पढ्नुहोस् :-
- १२ वर्षमै ५ फिट ७ इन्च अग्ली सरस्वती यसरी उक्लिइन् भलिबलमा