एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा बुधबार भएको खेलमा काठमाडौंले गण्डकी थन्डर्सलाई ३–१ ले हराउदा दोस्रो जित निकाल्न सफल भयो।
काठमाडौंले २५–२३, १९–२५, २५–२१ र २५–१६ जित हात पारेको हो।
गण्डकी भने लगातार तीन खेलमा पराजित भइसकेको छ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको लिगमा छ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र कर्णाली यश्विज सहभागी छन्। हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ।
सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल यही असोज १९ गते हुनेछ।