एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा कर्णाली यश्विजले लगातार दोस्रो खेलमा जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा मंगलबार भएको खेलमा कर्णालीले गण्डकी थन्डर्समाथि ३-२ को रोमाञ्चक जित हात पारेको हो।
पहिलो सेट गण्डकीले २५-१५ ले सहज रूपमा जितेको थियो। कर्णालीका खेलाडीले एकआपसमा तालमेल मिलाउन नसक्दा त्यसको फाइदा गण्डकीले लियो।
दोस्रो सेटमा कर्णाली खेलमा फर्कियो। कर्णालीले दोस्रो सेट २५-२२ ले जित्यो। तेस्रो सेटमा पनि कर्णाली २५-१७ ले अघि रहेको थियो।
तर चौथो सेट गण्डकीले जित्यो। सो सेटमा गण्डकी २५-१९ ले रहदा खेल २-२ को बराबरीमा आयो।
निर्णायक पाँचौ सेटमा कर्णाली १५-११ ले अघि रहदै खेल जित्न सफल भयो।
यसअघि कर्णालीले सोमबार भएको पहिलो खेलमा मधेश युनाइटेडमाथि ३-१ को जित निकालेको थियो।
गण्डकी भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा गण्डकीले चितवन शक्तिले ३-१ ले पराजित गरेको थियो।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा नेपाली भलिबल इतिहामै पहिलो पटक आयोजना भएको लिगमा छ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा काठमाडौँ स्पाइकर्ससँगै ललितपुर क्वीन्स, मधेस युनाइटेड, चितवन शक्ति, गण्डकी थन्डर्स र कर्णाली यश्विज सहभागी छन्। हरेक टोलीमा विदेशी खेलाडीको सहभागिता छ।
सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। फाइनल खेल यही असोज १९ गते हुनेछ।