प्रधानमन्त्री केपी शर्मा ओलीले महिला भलिबल खेलाडीलाई कभर्डहल बनाउने बताएका छन्।
सोमबार रक्षाबन्धनको बिहानी करिब दुई घण्टा प्रधानमन्त्री ओलीले नेपाली महिला भलिबल खेलाडीसँग छलफल गरेका हुन्।
प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धी, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटको क्रममा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने आश्वासन दिएका हुन्।
‘तपाईहरूलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरू गर्नेछौं। आगामी खेलमा जित्छौं जुन तपाईहरूको मनोबल छ, त्यो साकार होस्,’ उनले भने, ‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस्। सफलता पक्कै मिल्नेछ।’
उनले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको बताए।
प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको पनि बताए।