नेपालले बुधबार साँझ सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधिका लागि छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ।
नेपालका लागि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भारतलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने अवसर छ। त्यसो त नेपालले लिग चरणको खेलमा भारतलाई हराउँदै इतिहास बनाइसकेको छ। अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा नेपाली महिला टोलीले भारतमाथि निकालेको सो पहिलो जित थियो।
समूह चरणमा नेपालले इरानसँगको खेल गुमाउँदा शीर्ष स्थानमा रहने मौका भने गुमाएको थियो। तर सेमिफाइनलमा इरानसँग भिडेर नेपालले बदलामा मात्र लिएन फाइनलमा समेत स्थान पक्का गर्न सफल भयो।
महिला भलिबल टोलीले पछिल्लो पाँच वर्षमा दुई अन्तर्राष्ट्रिय उपाधि जितेको छ। तर ती दुवै उपाधि विदेशी भूमिमा जितेकाले बुधबार नेपालका लागि घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय उपाधि उचाल्ने अवसर छ।
फाइनलसम्मको यात्रामा नेपालले समूह चरणका तीन र सेमिफाइनलमा एक गरी चार खेलमा जित निकालेको छ। यी जितमा नेपाली राष्ट्रिय टोलीका सबै खेलाडीको उतिकै योगदान छ।
बुधबार भारतविरूद्ध हुने फाइनलमा पनि नेपालले राष्ट्रिय टोलीमा रहेका १४ खेलाडीकै उतिकै भूमिका हुन्छ। त्यस्तै टोलीका प्रशिक्षकदेखि अरू अफिसियलको कामले पनि नतिजामा प्रभाव पार्छ। तर प्रमुख भूमिका भने पहिलो रोजाइमा खेल्ने खेलाडीकै हुन्छ।
जान्नुहोस् भारतविरुद्धको खेलमा नेपाली टोलीका हेर्न लायक ७ खेलाडीबारे :-
अरूणा शाही
अरूणा शाही नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान हुन्। सेटर शाही नेपाली टोलीको कप्तान भएको पाँच वर्ष भयो। म्याग्दीमा जन्मिएका अरुणा गण्डकी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्छिन्।
सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेकी सन् २०१९ मा नेपाली टोलीको कप्तान बनिन्। उनले नेपाली टोलीलाई सन् २०१९ मा पहिलो उपाधि जिताउन कप्तानी गरेकी थिइन्।
३० वर्षीय अरुणाको कप्तानीमा नेपालले शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको थियो। अब उनीनमाथि मंगलबार भारतविरुद्धको फाइनल जितेर इतिहास रच्ने अवसर छ।
उषा भण्डारी
नेपाली टोलीकी युवा ओपनर स्पाइकर हुन्, उषा भण्डारी। मंगलबार इरानमाथि नेपालले उत्कृष्ट जित निकाल्दा तनहुँकी १९ वर्षीया भण्डारीले प्रभावशाली खेल देखाएकी थिइन्। उषाले नेपाली टोलीमा डेब्यू गरेको पाँच वर्ष भइसक्यो।
सन् २०१९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदका दौरान उनले राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्।
डेब्यू गर्दा १४ वर्षकी भण्डारी अहिले नेपाली टोलीको मुख्य स्पाइकरमा पर्छिन्। उनी नेपाली पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्छिन्।
निरूता ठगुन्ना
काभा वुमन्स नेसन्स लिगमा सबैभन्दा चर्चा गरिएकी खेलाडी हुन्, निरूता ठगुन्ना। २६ वर्षीया ओपन स्पाइकर ठगुन्ना प्राविधिक खेल खेल्न माहिर छिन्।
समूह चरणमा भारत र सेमिफाइनलमा इरानलाई हराउँदा ठगुन्नाको प्राविधिक पक्ष निकै उत्कृष्ट रह्यो। दार्चुलामा जन्मिएकी ठगुन्नाले सुरूमा त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेलेकी थिइन्।
पाँच वर्षअघि राष्ट्रिय टोलीमा डेब्यू गरेकी ठगुन्ना अहिले भने सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबमा आबद्ध छिन्।
साफिया पुन
साफिया नेपाली टोलीकी मिडल ब्लकर हुन्। बागलुङ गलकोटकी २८ वर्षीया साफियाको मुख्य जिम्मेवारी विपक्षीका कडा स्पाइक रोक्नु हो। जसमा उनी सफल भएको मान्नु पर्छ।
त्रिभुवन आर्मी क्लबबाट व्यवसायिक खेल खेल्ने पुनले राष्ट्रिय टोलीमा सन् २०१९ मा डेब्यू गरेकी थिइन्। साग खेलमा डेब्यू गरेपछि पाँच वर्ष खेल्दा उनको प्रदर्शनमा निखारता आएको छ।
सरस्वती चौधरी
धनगढीकी सरस्वती चौधरी नेपालको मुख्य तथा अनुभवी ओपन स्पाइकर हुन्। नेपाललाई फाइनलसम्म पुर्याउन उनको महत्वपूर्ण योगदान रह्यो। ६ फिट १ इन्च अग्ली सरस्वती १२ वर्षको उमेरदेखि भलिबल खेल्न थालेकी हुन्।
२८ वर्षीय सरस्वतीले राष्ट्रिय टोलीबाट खेल्न थालेको १० वर्ष भइसक्यो। सन् २०१९ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दा उनी टोलीकी मुख्य सदस्य थिइन्।
नेपाली टोलीका लागि चाहिएको बेलमा योगदान दिन सक्ने सरस्वती एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्छिन्।
सलिना श्रेष्ठ
नेपाली टोलीकी लिबेरो हुन् सलिना। २६ वर्षीय सलिना काठमाडौंको नैकापको न्युडाइमन्ड एकेडेमीकी उत्पादन हुन्। १२ वर्षको उमेरमा भलिबल खेल्न थालेकी सलिनाले २०१९ मा राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्।
विगत १४ वर्षदेखि भलिबल खेलिरहेकी सलिना जारी प्रतियोगितामा शतप्रतिशत खेल्न सफल भएकी छिन्। उनी विपक्षीका द्रुत प्रहारलाई उठाउनुका साथै कोर्टको जुनसुकै भागबाट उठाएर सेटरसम्म पुर्याउन माहिर छिन्।
सुमित्रा रेग्मी
मिडल ब्लकर सुमित्राले यही प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी हुन्। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै सुमित्राले टोलीमा प्रभाव देखाएकी छिन्। उनी पनि न्युडाइमन्ड एकेडेमीकै उत्पादन हुन्।
स्पाइकर सरस्वती चौधरीकै जति उचाइ रहेकी २३ वर्षीया सुमित्राले पछिल्लो समय घरेलु प्रतियोगितामा उत्कृष्ट खेल देखाउँदै आएकी थिइन्।
उनी गत वैशाखमा भएको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डाइमन्डबाट खेल्दै उत्कृष्ट ब्लकर घोषित भएकी थिइन्।