भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् ।
स्विस लिग प्रणालीमा ९ चरणमा भएको प्रतियोगितामा लामाले ८ अङ्क पाए । यसै गरी ८ अङ्क भएका रुकुमका मिलन रोक्का दोस्रो भए । निखिल चौधरी तेस्रो भए ।
७.५ अङ्क भएका सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौँका मणिराज डाँगी चौथो तथा ललितपुरका सानु भाइ महर्जन पाँचौँ. भए । ७ अङ्क भएका भक्तपुरका राजेश कक्षपति, काठमाडौँका दीपक महर्जन, झापाका मिसन दाहाल, मकवानपुरका फूर्वा लामा र धादिङका सुवास कुमार गुरुङ दशौँ भए ।
उपाधि विजेताले ३० हजार, उपविजेताले २० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ८ हजार रुपैयाँ पुरस्कार पाए ।
महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन भइन्। नवलपुरकी उज्भानी कँडेल दोस्रो र दनिसा पुरी तेस्रो भए । चितवनका सन्तोष गौतम बागमती प्रदेशका च्याम्पियन भए । लुम्बिनी प्रदेशमा कुशल बेलबासे च्याम्पियन भए । कोसी प्रदेशमा प्रेम खड्का पहिलो भए । गण्डकीमा सुशील सुबेदी पहिलो भए । मधेसमा सचिन कुमार चौधरी, कर्णालीमा मुस्कान कार्की र सुदूर पश्चिममा लेखराज भट्टराई पहिलो भए।
भेट्रान ६० वर्ष माथिमा जर्नादन श्रेष्ठ पहिलो भए । ५५ वर्ष माथि भुवनेश्वर चौधरी पहिलो भए ।
उमेर समूहमा य्–१८मा विपिन घिमिरे, यु–१६ मा सुभन्दिप थापा, यु–१४ मा विभव जोशी, यु–१२ मा आयान जोशी । यु–१० मा आयम सुबेदी पहिलो भए । यु–८ मा अङ्कुर पोखरेल पहिलो भए ।
१८०० रेटिङ मुनी राम कार्की पहिलो भए । १७०० मुनी कृश अधिकारी पहिलो भए । अनरेटेडमा भारतीय खेलाडी आदर्श राज पहिलो हुन सफल भए ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले देशको परिवर्तनका लागि योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि यस किसिमका आयोजनाले देश परिवर्तनमा विभिन्न क्षेत्रमा काम गरिरहेका मानिसहरूको लागि पनि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि आर्थिक पाटोको हिसाबले पनि सहज नरहेको उनले उल्लेख गरे । आफूले यो प्रतियोगिता आयोजना गर्नका लागि प्रायोजन छुटाउन पाउँदा गर्व महसुस भएको उनले बताए ।
अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालित २ दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता थियो । पुरस्कार वितरण समारोहमा नेकपा माओवादीका खेलकुद इन्चार्ज दीपक कोइराला, अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइराला,दिवंगत भक्त रानाकी धर्म पत्नी वर्षा राना मगर, नेपाल बुद्धिचाल सङ्घकी उप महासचिव मोनालिसा खुम्बु र कोसी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष सुरेन्द्र राई लगायतको उपस्थिति थियो । कार्यक्रम अखिल नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष तथा नेपाल बुद्धिचाल सङ्घका वरिष्ठ उपाध्यक्ष दिपेन राईको सभापतित्वमा भएको थियो । प्रतियोगिताको मुख्य मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु नेतृत्वको टोलीले प्रतियोगिता सञ्चालन गरेको हो ।