भरतपुरमा शुक्रबार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल कपको उपाधि भरतपुर महानगर कमिटीले जितेको छ। राष्ट्रिय युवा संघ कालिका नगर कमिटीलाई हराउँदै भरतपुर च्याम्पियन बनेको हो।
राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीले कृष्णपुर मैदानमा आयोजना गरेको खेलमा भरतपुर टाइब्रेकरमा ४–२ ले विजयी भयो। उपाधि विजेता भरतपुरले ट्रफीसहित एक लाख रूपैयाँ प्राप्त गरेको छ। उपविजेता कालिकाले ५० हजार रुपैयाँ प्राप्त गरेको छ।
खेलमा गोलकिपर मनोज गुरूङ प्लेयर अफ दि म्याच भए। प्लेयर अफ दि सिरिज पनि उनै भए।
भरतपुरका समिर श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, कालिकाका सौजन खड्का उत्कृष्ट डिफेन्डर तथा कालिकाकै अमन तामाङ उत्कृष्ट गोलरक्षक बने।
प्रतियोगितामा ८ टोली सहभागी थिए। राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले खेलकुद क्षेत्रमा युवाको रूचि बढाउन विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने गरेको बताए। उनले छिट्टै राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भएको जानकारी दिए।