ग्रेस महर्जन मिस्टर महानगर घोषित भएका छन्। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ ले शनिबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको ओभरअल विजेता भएपछि महर्जनले ‘मिस्टर महानगर’ को उपाधिसहित ट्रफी, मेडल, प्रमाण पत्र र नगद ५ लाख ७५ हजार रुपैयाँ (क्याटागोरी विजेताका रुपमा ७५ हजार रुपैयाँ र ओभरअल विजेताका रुपमा ५ लाख रुपैयाँ) प्राप्त गरे।
उनलाई प्रधानमन्त्री के. पि. शर्मा ओलीले पुरस्कार प्रदान गरे।
प्रतियोगितामा ६ तौल समूहमा ३८ जना खेलाडी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रतियोगिताको पहिलो दिन असार ६ गते तौल मापन गरिएको थियो ।
७५ के. जी. माथिको तौल समूहमा ६ जना खेलाडी थिए। यस समूहमा नेपाल व्यायाम मन्दिर, ज्याठाबाट भाग लिनुभएका महर्जन क्याटागोरी विजेताका रुपमा अन्तिम प्रतिस्पर्धामा जनाए।
७५ के. जी. सम्म तौल समूहका ५ जना खेलाडीमा नेपाल व्यायाम मन्दिर, ज्याठाका सुरेश मुनिकार, ७० के. जी. सम्म तौल समूहका ६ जना खेलाडीमा पावर फिजिकल फिटनेस, पेप्सीकोलाबाट सुसन श्रेष्ठ, ६५ के. जी. सम्म तौल समूहका ८ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका युवराज बस्नेत, ६० के. जी. सम्मको तौल समूह भएका ७ जना खेलाडीमा फिटनेस ग्यारेज, न्युरोडका सुमित गिरी र ५५ के. जी. सम्मको तौल समूहका ६ जना खेलाडीमा फिटनेस ग्यारेज, थापाथलीका नेवबहादुर राना क्याटागोरी विजेता बने।
प्रिजजिङ् चरणपछि भएको प्रतियोगितामा उत्कृष्ठ ५ छनोट हुनुभएको थियो । क्याटागोरीका हरेक प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद ७५ हजार रुपैयाँ, रजत पदक र ५० हजार रुपैयाँ र कास्य पदक २५ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । यस्तै चौथो स्थान हासिल गर्नेलाई १५ हजार नगद र पाँचौ स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो।
वडा नम्बर २२ ले ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित ‘फस्ट मिस्टर महानगर वडी विल्डिङ् च्याम्पियनसिप २०८२’ आयोजना गरेको हो । प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग थियो ।