नेपाली सेनाले आयोजना गरेको ‘रारा ट्रेल रन’ को उपाधि जुम्लाका युगराज बुढा र सुनमाया बुढाले जितेका छन्।
नेपाल सबैभन्दा ठूलो ताल रारा वरिपरि १६ किमी दूरी तोकेर नेपाली सेनाले रारा ट्रेल रनको आयोजना गरेको थियो । आज आयोजित ट्रेल रनमा पुरूषतर्फ कनकासुन्दरी गाउँपालिका–३ जुम्लाका युगराज बुढाले निर्धारित दूरी एक घण्टा १२ मिनेटमा पार गर्दै प्रथम भएका थिए भने सोही गाउँपालिकाका–१ का सोमबहादुर रावत द्वितीय र वडा नं २ का चन्द्र रावतले तृतीय स्थान प्राप्त गरेका थिए ।
महिलातर्फ पातारासी गाउँपालिका–२ जुम्लाकै सुनमाया बुढा प्रथम, कल्पना बुढा द्वितीय र राज्यलक्ष्मी रावल तृतीय भएको आयोजक हनुमान ध्वज गुल्म राराका गुल्मपति खिमबहादुर अधिकारीले जानकारी गराउनुभयो ।
प्रथम हुने खेलाडीलाई उत्तर पश्चिम पृतनापति तथा उपरथी अनुपजङ्ग थापाले, द्वितीय हुने खेलाडीलाई बाहिनीपति तथा सहायकरथी सञ्जय देउजा र तृतीय हुने खेलाडीलाई प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले नगद पुरस्कार, प्रमाणपत्र र मेडल वितरण गर्नुभएको थियो ।
प्रथम हुने खेलाडीलाई नगद रू ५० हजार, द्वितीयलाई रू ३० हजार र तृतीयलाई २० हजार नगदसहित प्रमाणपत्र र मेडलसहित पुरस्कार प्रदान गरिएको छ ।
पाँचौँ रारा ट्रेल रनमा सहभागी २१३ जना खेलाडीमध्ये ५५ वर्षीय उत्तर पश्चिम पृतनापति अनुपजङ्ग थापा ज्येष्ठ खेलाडी सहभागी हुनुभएको थियो । कर्णालीको पर्यटनको प्रचारप्रसार गर्न र जगबाटै राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले प्रत्यक वर्ष रारा ट्रेल रनको आयोजना गर्दै आएको छ ।
---