नखिपोट युथ क्लब र संकटाले तेश्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । नखिपोट पुरुष तथा संकटा महिलामा च्याम्पियन बने।
कफी क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा नखिपोटले वाइबा एफसीलाई सडन डेथ (७–६) मा पराजित गर्यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
सुनाकोठीस्थित वाखत फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा संकटाले हलेसीलाई २–१ गोलले हरायो । विजेताकी अभानी सिंह र सोविन्या ढकालले गोल गरे । हलेसीकी सविना तामाङले सान्त्वना गोल फर्काइन्।
दुवै समूहका विजेताले २५ हजार तथा उपविजेताले १२ हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषमा नखिपोटका गोलरक्षक शैलेन्द्र मगर तथा महिलामा संकटाकी अभानी सिंह प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए।
विजेतालाई कफी क्लबका अध्यक्ष शैलेश लिम्बू, क्लबका पूर्व अध्यक्ष प्रेम राई, क्लबका उपाध्यक्ष मनु लिम्बू र कृष्ण मगर, सचिव सुरेश राई, सह–कोषध्यक्ष रुद्र राई, सदस्य राजाराम अछामी, प्रतियोगिता संयोजक प्रतित श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतियोगिताको पुरुषमा ३१ तथा महिलामा १२ टिम सहभागी थिए।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिम्बूले प्रतियोगिताबाट उठेको रकमको केही प्रतिशत आर्थिक अवस्था कमजोर भएका जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरुप उपलब्ध गराउने बताउदै प्रतियोगिताका लागि रनिङ सिल्डको व्यवस्था गरिएको बताए।
उनले प्रतियोगिताको मुख्य प्रायोजक पिल्मो परिवारका सदस्य बल राई, बौद्ध राई, अस्मिता राई, संगमा राई र युमिहाङ राई, विभिन्न संघ संस्था, निजी व्यवसायिक संस्था, व्यक्तिगत रुपमा सहयोग गर्ने सम्पूर्णलाई कफी क्लबको तर्फबाट धन्यवाद दिए ।