नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभासँगको सहकार्यमा हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ ।
पहिलो पटक आयोजना हुन लागेको हिमालयन जाभा बास्केटबल लिग यही बैशाख २० गतेदेखि हुने नेपाल बास्केटबल संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहने नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । जसमा टाइम्स क्लब, हाउण्ड्स क्लब, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
हिमालयन जाभा बास्केटबल लिग ६ साता चल्नेछ भने खेलहरु विकेण्डमा खेलाइनेछ । जसअन्गर्त हरेक शनिवार र आइतबार खेल हुनेछ । यस्तै मौसमको अवस्था हेरेर मंगलबार र बुधबार पनि खेल खेलाउने नेबा अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको खेलतालिका छिटै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
खेल डबल राउण्ड रोविन लिगको फम्र्याटमा हुनेछ । जसमा हरेक टिमले अर्को टिमसँग दुई–दुई पटक खेल्नेछ । लिगका खेलहरु राखेपस्थित आउटडोर भलिबल कोर्टमा हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
‘होम एण्ड अवे फम्र्याटमा खेल्ने योजना भएपनि मौसमको अवस्थाले गर्दा सिंगल भेन्युमै खेलाउन लागेका हौँ । हामीले राखेपको कभर्डहल र कीर्तिपुरको कभर्डहललाई पनि विकल्पमा राखेका छौँ ।’ अध्यक्ष गुरुङले भने ।
प्रतियोगितामा ३० खेल हुनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । फाइनल खेलमा दुई प्लेअफ खेल हुनेछ । बास्केटबल लिग आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच सम्झौता भइसकेको छ ।
नेपाली बास्केटबल खेल र खेलाडीको विकासका लागि यो लिग आयोजना गर्न लागेको नेबा अध्यक्ष गुरुङले बताए ।
‘हामीले पहिलो पटक परिक्षण स्वरुप विकेण्ड लिग आयोजना गर्न लागेका छौँ । यसलाई पहिलो पटक राम्रोसँग सफल पार्न सके आगामी वर्षहरुमा अझ बृहत रुपमा आयोजना गर्नेछौँ । यसले खेलाडी र बास्केटबल समर्थकहरुका लागि खेल हेर्न राम्रो अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ ।’ नेबा अध्यक्ष गुरुङले भने ।
प्रतियोगिताको लागि १५ लाख अनुमानित बजेट रहेको र यो अझै बढ्न सक्ने आयोजकले जनाएको छ । मुख्य प्रायोजक हिमालयन जाभा बाहेक अन्य प्रायोजकहरुसँग पनि छलफल भइरहेको र लिगको पुरस्कार राशी पनि केहि समयपछि सार्वजनिक गर्ने उनको भनाई थियो ।