युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलकुदमा प्रतिबन्धित औषधी सेवन सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा चिकित्सा विज्ञान प्रतिष्ठानका रजिष्टार डा. ज्ञानेन्द्र विक्रम शाह र राष्ट्रिय एन्टिडोपिङ एजेन्सी नेपालका संयोजक डा. असिम भण्डारीले कार्यक्रमको सहजीकरण गरेका थिए।
कार्यक्रममा नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
दक्षिण एसियाली क्षेत्रीय एन्टी डोपिङ संगठन (साराडो) का व्यवस्थापक हुसेन मोहमदले भर्चुअल प्रस्तुतीमार्फत एन्टी डोपिङ सम्बन्धी जानकारी दिएका थिए।
डा. ज्ञानेन्द्र विक्रम शाहले डोपिङको इतिहास, यसको प्रभाव, डोपिङ गरेको मानिने अवस्था, जोखिम क्षेत्र तथा विश्व एन्टी डोपिङ संस्था (वाडा) का मापदण्डहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे।
त्यसैगरी डा. असिम भण्डारीले डोपिङसम्बन्धी प्रस्तुती दिएका थिए।

कार्यक्रमको अन्त्यमा उपस्थित सबै सहभागीबीच अन्तरक्रिया तथा छलफल भएको थियो।
उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रममा मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यको पनि उपस्थिति थियो।