नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन् । त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका छन्।
‘खेलाडीका रुपमा मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले। पदक पनि जिते। अब प्रशिक्षकका रुपमा नयाँ अध्याय सुरु गर्दै छु । त्यो पनि विदेशी भूमिमा । मलाई यो अवसर प्रदान गर्नु भएकोमा एकेडेमीका प्रबन्ध निर्देशक डेनियल डसनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ अस्ट्रेलिया उड्नुअघि गुणराजले भने– ‘उहाँ (डेनियल) ४ पटकका मुवाँथाई च्याम्पियन, ३ पटकका किक बक्सिङ च्याम्पियन र १ पटकका बक्सिङ च्याम्पियन हुनु हुन्छ । उहाँ जस्तो मार्सल आर्ट्स क्षेत्रका दिग्गज व्यक्तित्वसंग काम गर्ने अवसर पाएकोमा भाग्यमानी ठानेको छु।’
गत भदौमा पनि गुणराज केही समय लिजेन्ड्स एकेडेमीसँग जोडिएका थिए। त्यसबेला उनले लिजेन्ड्स मै विशेष प्रशिक्षण लिएका थिए। गुणराजले करिब १२ बर्ष ६ महिना अवधि सेनामा रहेर हालै उपदानमा राजीनामा दिएका थिए।
करिब एक दशकको मुवाँथाई यात्रामा ३२ वर्षीय गुणराजको मुख्य उपलब्धी भनेको १ वर्षअघि बैंककमै भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो । उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए।
त्यो स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनैपनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो । १९ औं संस्करणअघि गुणराजले १७ औं र १८ औं संस्करणको विश्व च्याम्पियनसिपमा कांस्य जितेका थिए । उनी १३ औं र १५ संस्करणको विश्व च्याम्पियनसिपमा पनि सहभागी भएका थिए । यि सबै विश्व च्याम्पियनसिप थाइल्यान्डमा भएको थियो ।
गुणराज विभिन्न समयमा भएका नेपाल मुवाँथाई च्याम्पियनसिप, टप ५ मुवाँथाई प्रो फाइट, तेश्रो, चौथो र आठौं संस्करणको इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिप र तेश्रो केब्याग अन्तर्राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । पाँचै प्रतियोगिता नेपालमा भएका थिए ।
उनी थाइल्यान्डमै भएको प्रोफेसनल मुवाँथाई फाइट र फेयरटेक्स प्रोफेसनल फाइटका विजेता हुन् । उनले २०१६, २०१८ र २०२२ को वर्ष उत्कृष्ट मुवाँथाई खेलाडीको अवार्ड जितेका छन् । उनले कम्बोडियामा भएको दोश्रो विश्व कुन्खेमरमा पनि नेपालको चुनौती प्रस्तुत गरेका थिए ।