खानेपानी मन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएको बताएका छन्।
शुक्रबार वीरगञ्जमा आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै खानेपानी मन्त्री यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको र साहस, अनुशासन तथा शक्ति प्रदर्शनको पराकाष्ठा प्रस्तुत गर्ने अद्भुत मञ्च भएको बताए।
‘कुस्ती खेल केवल मनोरञ्जनको माध्यम मात्र नभएर, हाम्रो पहिचान र अस्मितासँग जोडिएको छ,’ मन्त्री यादवले भने।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले कुस्तीको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए।
‘कुस्ती हाम्रो समाजको पुरानो परम्परा हो, जसलाई जगेर्ना गरेर आधुनिक पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ,’ उनले भने, ‘यस्ता प्रतियोगिताहरूले युवा पुस्तामा कुस्ती खेलप्रतिको आकर्षण बढाउन, उनीहरूको शारीरिक तन्दुरुस्ती सुधार्न र खेलकुदमा भविष्य खोज्न सहयोग पुर्याउँछ।’
उनले यस्ता प्रतियोगिताहरूले समुदायमा खेलकुदको महत्त्वलाई पुनः स्थापित गर्नुका साथै समाजलाई एकताबद्ध गर्न सहयोग पुर्याउँछ।
मन्त्री यादवले विराट कुस्ती जस्ता प्रतियोगिताहरू मधेसको सांस्कृतिक धरोहरको पुनरुत्थानमा महत्त्वपूर्ण रहेको बताए।
वीरगञ्ज महानगरपालिका र इनरवा महावीर संरक्षक समाजको सहकार्यमा वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित महावीर मन्दिरमा आयोजित प्रतियोगितामा पर्सा, बारा, रौतहटलगायतका भारतका विभिन्न स्थानबाट आएका खेलाडीहरूले सहभागिता रहेको थियो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कुस्ती प्रतियोगिताजस्तो खेल आयोजनाले महानगरको खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए।
उनले स्थानीय खेलकुदको संरक्षण र विकासका लागि महानगरपालिकाले सधैँ तत्परता देखाउने बताए।