जैविक विविधताको संरक्षणमा सचेतनाका लागि चितवनमा म्याराथन गरिँदैछ।
रोटरी क्लब अफ चितवनले कात्तिक ९ गते चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको कसरा चोकदेखि मेघौली विमानस्थलसम्म म्याराथन गर्न लागेको हो।
जैविक विविधता र पारिस्थितिकी प्रणालीको संरक्षणमा चेतना फैलाउने, सरसफाईको विषयमा स्थानीयलाई जागरूक बनाउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय हेरिटेज म्याराथन’ गर्न लागिएको कार्यक्रम संयोजक राजन पियाले जानकारी दिए।
स्थानीय तह, स्थानीय बासिन्दा, व्यवसायी र संस्थाहरुबीचको सहकार्यलाई प्रोत्साहन गर्दै दिगो पर्यटनको विकासका लागि सहयोगी हुनेगरी हरेक वर्ष म्याराथन गर्ने पियाले बताए।
उनकाअनुसार १४ किलोमिटर दूरीको म्याराथनको भरतपुर महानगरपालिकाले प्रवर्द्धन गर्नेछ।
‘हामीले यसलाई संरक्षणका लागि दौड भनेका छौं। यसले संरक्षणका साथै भरतपुर भ्रमण वर्ष–२०२४ को प्रवर्द्धनका पनि सघाउनेछ,’ पियाले भने।
रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्माले अहिलेसम्म करिब २०० जना म्याराथनमा सहभागी हुन दर्ता भएको बताए। ५०० जना सहभागी हुने अनुमान गरेको उनले बताए।
म्याराथनमा पुरूष र महिलाको छुट्टा–छुट्टै प्रतिष्पर्धा हुनेछ। प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्तवनाले ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।
अध्यक्ष शर्माले अन्तर्राष्ट्रिय सम्पदा म्याराथनको अवसरमा भरतपुर–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा सरसफाई पनि गरिने बताए।
सरसफाइ कार्यक्रममा भरतपुर महानगरपालिका, रोटरी क्लव अफ चितवन, मेघौली उपभोक्ता समिति, मेघौली पर्यटन विकास समिति र चितवन गोलाघाट पर्यटन विकास समितिको सहभागिता रहने छ।
भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले पर्यापर्यटनको विकासका लागि सरोकाराला सबैको सकृयता अवश्यक रहेको बताए।
प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरी पर्यटकको संख्या र बसाइ बढाउन महानगर, सामाजिक संस्था, निजी क्षेत्र र स्थानीय बासिन्दाबीच सहकार्य आवश्यक भएको बताए।