सागर राज तिमिल्सिना
र्याफ्टिङ विश्वकपका लागि अष्ट्रेलिया प्रस्थान गर्न लागेको नेपाली टिमलाई पोखराका पर्यटन ब्यबसायीले बिदाई गरेका छन्।
अन्तर्राष्ट्रिय र्याफ्टिङ महासंघको आयोजनामा आगामी मे १६ देखि १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा हुने विश्वकप च्याम्पियनसिपमा भाग लिन जाने टोलीलाई शनिबार गण्डकी प्रदेश सभा सदस्य राजिब पहारीले नेपालको झण्डा हस्तान्तरण र रेवान पोखरा तथा पोखरा पर्यटन परिषदका अध्यक्ष लगायतले खादा लगाई बिदाई गरेका हुन्।
प्रतियोगितामा भाग लिन सुरज गुरुङको कप्तानीमा सुनिल गुरूङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मिया जादै छन्।
नेपाली टिम प्रशिक्षकका रुपमा नेपाल एजेन्सीज र्याफ्टिङ एशोसियशनका अध्यक्ष निम बहादुर मगर छन्। प्रशिक्षक मगरले नेपाली टोलीले ४ वटा टिम इभेन्टमा सहभागीता जनाउने बताए।
उनले दुई वर्ष अगाडि जापानमा भएको प्रतियोगितामा नेपालले १३ स्थान हासिल गरेको बताउँदै यस पटक नेपालले पदक वा १० औं स्थान सम्म ल्याउने बताए।
उनले प्रतियोगितामा सहभागी हुन करिब ३४ लाख लाग्ने भए पनि सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरे। उनले विभिन्न संघ सस्थाबाट करिब १४ लाख रुपैया संकलन गरेको र अरू खर्च उठाउने अभियानमा रहेको बताए।
उनले केन्द्र सरकार र नेपाल पर्यटन बोर्डले कुनै पनि सहयोग नगरेको बताए। राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता २०७५ बाट खेलाडीहरु छनोट भएका थिए।
विगत दुई महिनादेखि सेती नदीमा अभ्यास गरिरहेका उनीहरु आगामी मे ७ तारिकमा अष्ट्रेलिया प्रस्थान गर्नेछन्।
खेलाडीलाई विदाईका लागि पर्यटन व्यवसायी सोम थापा, दिपक अधिकारी र नरेश भट्टराईले व्यवस्था मिलाएका थिए।