नेपाल र ताजिकिस्तानको फुटबल खेल भोलि, बदला लिने नेपालको लक्ष्य


एसियन कप छनोट प्रतियोगिताको मंगलबार हुने खेलमा नेपालले ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा बदला लिने लक्ष्य राखेको छ।

नेपाली समयअनुसार भोलि साँझ पौने ७ बजे हुने खेल ताजिकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा हुने छ। खेलअघि सोमबार भएको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक ग्योतोकु कोजीले नेपाल जितका लागि मैदानमा उत्रिने बताए।

एएफसी कपमा छनोट हुने सम्भावना जिवित राख्ने हामीलाई जित आवश्यक छ,’ उनले भने, ‘हामी ३ अंकका लागि खेल्ने छौं।’ उनले नेपालले एक महिनाअघि ताजिकिस्तानसँग व्यहोरेको हारको बदला लिने पनि दाबी गरे। भदौ २० गते काठमाडौंमा भएको खेलमा नेपालले घरेलु मैदानमै २-१को हार व्यहोरेको थियो।

मंगलबारको खेलमा नेपालको कप्तानी विराज महर्जनले सम्हाल्ने छन्। समूह एफमा नेपाल एक अंकसहित अंक तालिकाको पुछारमा छ। नेपालले अहिलेसम्म खेलेका तीन खेलमध्ये एकमा बराबरी र दुईमा हार व्यहोरेको छ। ताजिकिस्तान भने भदौ २० को खेलमा नेपाललाई हराउँदै३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

अन्य दुई खेलमा उसले पनि हार व्यहोरेको छ। यो समूहमा ७ अंक भएको फिलिपिन्स पहिलो स्थानमा र ५ अंक भएको यमन दोस्रो स्थानमा छन्। सबै टोलीले अहिलेसम्म ३-३ खेल खेलेका छन्। समूहका शीर्ष दुई टोलीले एसियन कप छनोट खेल्न पाउँछन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.