बार्सिलोनाले कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा एट्लेटिको मड्रिडविरुद्ध एउटा ऐतिहासिक पुनरागमनको प्रयास गरे पनि अन्ततः प्रतियोगिताबाट बाहिरिनु परेको छ।
दोस्रो लेगको खेलमा ३-० को जित निकाले पनि समग्र नतिजा (एग्रिगेट) मा ४-३ ले पछि पर्दै साविक विजेता बार्सिलोना सेमिफाइनलबाटै बाहिरिएको हो।
पहिलो लेगको खेलमा बार्सिलोना ४-० को ठूलो अन्तरले पराजित भएको थियो। त्यसैले फाइनल पुग्नका लागि बार्सिलोनालाई यो खेलमा कम्तीमा ५ गोलको आवश्यकता थियो।
प्रशिक्षक हान्सी फ्लिकको टोलीले खेलको सुरुदेखि नै एट्लेटिको मड्रिडलाई दबाबमा राख्यो। खेलको २९ औं मिनेटमा लामिन यमलको पासमा १८ वर्षीय युवा स्टार मार्क बर्नालले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए।
पहिलो हाफको थप गरिएको समयमा पेड्रीलाई डि-बक्सभित्र लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई राफिन्हाले गोलमा परिणत गर्दै टोलीको उत्साह बढाए।
खेलको ७२ औं मिनेटमा जोआओ क्यान्सेलोको क्रसमा मार्क बर्नालले फेरि गोल गरे। यो उनको पछिल्लो चार खेलमा चौथो गोल थियो। यस गोलसँगै खेल ३-० को स्थितिमा पुग्यो र बार्सिलोनालाई खेल अतिरिक्त समयमा लैजान अब मात्र १ गोलको खाँचो थियो।
खेलको अन्त्यतिर मार्कस रासफोर्ड मैदान प्रवेश गरे र बार्सिलोनाले चौथो गोलका लागि निकै प्रयास गर्यो। जेरार्ड मार्टिनको एउटा प्रहार गोलपोस्टको थोरै माथिबाट बाहिरियो। एट्लेटिको मड्रिडका गोलकिपरले केही उत्कृष्ट बचाउ गरे र थप गोल हुन दिएनन्।
डिएगो सिमिओनीको टोली एट्लेटिको मड्रिडले समग्रमा ४-३ को जित निकाल्दै फाइनलमा स्थान पक्का गर्यो। अब फाइनलमा उनीहरूले रियल सोसिडाड वा एथ्लेटिक क्लबमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन्।