रियल मड्रिडको ला लिगा उपाधि जित्ने अभियानमा गेटाफेसँगको १–० को अप्रत्याशित हारले ठूलो धक्का पुर्याएको छ।
लिगमा अब १२ खेल बाँकी रहँदा मड्रिड शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछि परेको छ। हारसँगै टोलीका तीन महत्वपूर्ण खेलाडीहरू अर्को खेलका लागि निलम्बनमा परेपछि मड्रिडको समस्या थप चुलिएको छ।
आफ्नै मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा गेटाफेसँग १–० ले पराजित भएपछि रियल मड्रिड ६० अंकमै रोकिन पुग्यो। खेलको अन्तिम समय (९५औँ मिनेट) मा रेफ्रीको एउटा निर्णयमा असन्तुष्टि जनाउँदा युवा खेलाडी फ्रान्को मस्तानटुआनोले सिधै रातो कार्ड पाए। यसले खेललाई थप तनावपूर्ण बनायो।
रेफ्रीले फल दिएपछि आक्रोशित बनेका मस्तानटुआनोले रेफ्रीलाई अपशब्द प्रयोग गरेको बताइएको छ। मैदानबाट बाहिरिँदै गर्दा उनले चौथो अफिसियललाई पनि केही नराम्रो बोलेका थिए।
रेफ्रीको अन्तिम रिपोर्टका आधारमा उनलाई कति खेलको प्रतिबन्ध लाग्ने भन्ने निर्णय हुनेछ, तर शुक्रबार सेल्टा भिगोविरुद्धको खेल उनले पक्का गुमाउनेछन्।
मस्तानटुआनो मात्र होइन, रियल मड्रिडका दुई डिफेन्डरहरू डिन हुइजेन र अल्भारो कारेरासले पनि यस खेलमा सिजनको पाँचौँ पहेँलो कार्ड पाएका छन्।
यसको अर्थ उनीहरूले पनि सेल्टा भिगोविरुद्धको महत्वपूर्ण अवे खेल खेल्न पाउने छैनन्। एकैसाथ तीन खेलाडी गुमाउनु परेपछि प्रशिक्षक कार्लो एन्सेलोटीलाई टोली छनोटमा ठूलो समस्या पर्ने देखिएको छ।
दोस्रो हाफमा आर्दा गुलरको स्थानमा मैदान छिरेका मस्तानटुआनोसँग आफ्नो क्षमता प्रमाणित गर्ने राम्रो अवसर थियो। तर, २५ मिनेट मैदानमा रहँदा उनले कुनै खास प्रभाव पार्न सकेनन्। खेलको अन्त्यतिर उनले प्रहार गरेको एउटा फितलो बल गेटाफेका गोलकिपरले सहजै बचाएका थिए।