अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलदेशबीच आगामी भदौ २१ र २४ गते हुने तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तोकिएकै समयमा हुने बताएको छ।
यसअघि बंगलादेशले नेपालमा खेल्नका लागि इच्छा नदेखाएको खबर सार्वजनिक भएको थियो। पछि फेरि बंगलादेश तयार भएपछि एन्फाले तोकिएको समयमा दशरथ रंगशालामा खेल हुने जनाएको हो।
‘नेपालले बंगलादेश र भुटान लगायत विभिन्न राष्ट्रसँग खेल खेल्ने अवसर गुमाएको, फुटबलमा अन्तर्राष्ट्रिय मान्यता गुमाउँदै गएको र श्रीलंकाले आयोजना गर्ने भनिएको प्रतियोगितामा नेपाललाई निमन्त्रणा नगरिएको जस्ता शीर्षक राखी सम्प्रेषण गरिएका समाचारहरू सरासर गलत भएको स्पष्ट पार्न चाहन्छ,’ एन्फाको भनाइ छ।
नेपाल र बंगलादेशबीचको खेलका लागि फिफा अन्तर्राष्ट्रिय विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि आवश्यक प्रकियाहरू पूरा गरी जुलाई २, २०२२ मा एएफसी र फिफाबाट स्वीकृत प्राप्त भइसकेको एन्फाको भनाइ छ।
एएफसी एसियन कप छनोटमा बाँकी खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन्।
नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।
नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो।
नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ।