नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट खेलेर सोमबार बिहान स्वदेश आइपुगेको छ।
उज्वेकिस्तानमा भएको समूह ‘एफ’ को छनोटको खेलमा नेपाल निर्णायक खेलमा पराजित भएको थियो। निर्णायक खेलमा नेपालले उज्वेकिस्तानसँग पराजय भोग्दा सन् २०२६ मा हुने वुमन्स एसियन कपमा छनोट हुन असफल भएको थियो। साथै नेपाल फिफा महिला विश्वकप र ओलम्पिक छनोटबाट पनि बाहिरिएको थियो।
छनोटमा फरवार्ड सावित्रा भण्डारी साम्बाले पहिलो पटक कप्तानको जिम्मेवारी पाएकी थिइन्। यसअघिको गोलकिपर अन्जिला तुम्बापो सुब्बाको स्थानमा प्रशिक्षक प्याट्रिक डे विल्डेले साम्बालाई कप्तानको आर्मब्यान्ड सुम्पेका थिए।
साम्बाले उज्वेकिस्तानमा भएको छनोटमा सफल नभए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताइन्।
‘सुरूमा त्यहाँको वातावरणमा भिज्न गाह्रो भयो। हामीले पहिलो, दोस्रो खेल गरेर सुधार ल्यायौं। प्रशिक्षकको दिएको रणनीति पछ्यायौं। तीन जना डिफेन्डेर खेलेर पनि आक्रामक फुटबल खेल्न सफल भयौं। तीन गोल खाएर पनि हामी खेलमा फर्कन सफल भयौं,’ साम्बाले भनिन्, ‘समग्रमा हामीले आफूभन्दा माथिल्लो स्तरको टोलीसँग राम्रो खेल्यौं। टोलीमा सकारात्मक सन्देश आएको छ। सबैको लडाकू क्षमता देखेर सबै समर्थकले प्रशंसा गर्नुभएको छ।’
-1751869917.jpg)
-1751869916.jpg)
शनिबार भएको उज्वेकिस्तनविरूद्धको खेलमा नेपाल पहिलो हाफमा ३-१ गोलले पछि परेको थियो। तर दोस्रो हाफमा २ गोल गर्दै नेपाल खेलमा फर्किएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित हुँदा नेपाल एसियन कपमा पुगेर इतिहास बनाउन चुकेको थियो।
‘हाम्रो लागि यो ठूलो प्रतियोगिता थियो। यो अवसरलाई हामीले सही तरिकाले लियौं। तीन गोल खाएर पनि खेलमा फर्कियौं। तर ५०-५० चान्समा हामी चुक्यौं। नतिजा दिन नसकेको यो कुराले भविष्य पिरोल्छ जस्तो लाग्छ,’ साम्बाले भनिन्, ‘पहिलो मिनेटमै गोल खाँदा १० मिनेट सम्हालिन सकेनौं। फेरि गोल खायौं। तर कोचिङ स्टाफको समर्थनले हामी खेलमा फर्कियौं। दोस्रो हाफमा प्रशिक्षकले सकिन्छ भनेर भन्नुभयो। उहाँले प्रोत्साहन दिँदै काम गर्न सकिन्छ भन्ने सन्देश दिनुभयो।’
साम्बा कप्तान बनेको विषय विवादरहित भने बन्न सकेन। एन्फाको कमजोरीका कारण एकै खेलमा दुई कप्तानको नाम घोषणा भयो। भर्खरै राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पाएका बेल्जियन प्रशिक्षक प्याट्रिक डि विल्डेले उज्वेकिस्तान जानुअघि नै कप्तान फेर्ने संकेत दिइसकेका थिए।
तर विल्डेले छनोटअन्तर्गत लाओसविरूद्धको पहिलो खेलको आधा घन्टाअघिसम्म पनि कप्तानको नाम उपलब्ध गराएनन्।
-1751869916.jpg)
लाओसविरूद्धको खेलका लागि उनले नियमित कप्तान अन्जिलाको स्थानमा अन्जना राना मगरलाई खेलाएका थिए। अनि उनले कोही पनि कप्तान उल्लेख नगरी प्लेइङ-११ को नाम एन्फा व्यवस्थापनलाई उपलब्ध गराए।
त्यसपछि एन्फा व्यवस्थापनले सिनियर खेलाडी र यसअघि पनि अन्जिला टिममा नहुँदा कप्तानी गरिरहेकी रेनुका नगरकोटेको नाम कप्तानमा रूपमा रहेको भन्दै सार्वजनिक गर्यो। तर प्रशिक्षक विल्डेले भने कप्तानको आर्म ब्यान्ड साम्बलाई लगाइदिए।
‘कप्तान बन्दा चुनौती थियो। सुरूमा विवाद आइरहेको थियो। त्यसैले तीन दिनकै खेलको अघि सुतिनँ। छुट्टै किसिमको दबाब थियो। तर सबै टोलीका साथीले सहयोग गर्नुभयो,’ साम्बाले भनिन्।
उनको भनाइ छ, ‘कप्तानको विषय हाम्रो टोलीभित्रको कुरा हो। हामीले अहिले एक टोली भएर खेलेका छौं। भोलिको दिनमा यस्तो खालको विवाद नआओस्। हामी सबै २३ खेलाडी नै एक होस्। बाहिर बसेर फुटबल हेर्ने हाम्रो लागि कप्तान सरह नै हुनुहुन्छ। यो छनोटमा मेहनत गर्ने सबै खेलाडीले टोलीका लागि लड्नुभयो। उहाँहरू पनि कप्तान हुनुहुन्छ। हामी २३ खेलाडीमा २३ जना नै कप्तान छौं। मैले कप्तानको आर्म ब्यान्ड लगाउँदैमा सबै कुरा परिवर्तन गर्न सक्छु भन्ने होइन। सबैको आफ्नो भूमिका हुन्छ। आफ्नो भूमिकामा बसेर देशका लागि प्रतिबद्ध भएर खेल्न सक्यो भने हामी २३ खेलाडीमा २३ नै सक्षम छौं। कप्तानको जिम्मेवारी पाउँदा १०-११ वर्षको करिअरमा खुसी पनि थिए। छुट्टै भूमिका दबाब पनि थियो।’
-1751869917.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी