युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँग बिहीबार छलफल गरेका छन्।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा भएको छलफलमा मन्त्रीलाई ए डिभिजन लिग हुन नसक्नुको विषयमा एन्फा महासचिव किरण राई र सिइओ इन्द्रमान तुलाधरले ब्रिफिङ गरेका थिए।
महासचिव राईले मन्त्री गुप्ताले फुटबलको विषयमा चासो राखेको भन्दै सुरुमा धन्यवाद दिएका थिए। त्यसपछि उनले ए डिभिजन लिग हुन नसक्नुको विषयमा लामो ब्रिफिङ गरेका थिए।
उनले सी डिभिजन सकिएको दुई वर्षसम्म विभिन्न समस्याले बी डिभिजन सम्पन्न गर्न दुई वर्ष ढिलाइ भएको बताएका थिए।
क्लबहरूले खेल्न नमानेको र राजनीतिकरण भएकाले बी डिभिजन लिग सम्पन्न गर्न ढिलाइ भएको उनको जिकिर थियो। त्यसपछि पराम्परागत रुपमा हुँदै आएको ए डिभिजन लिगको अवधारणा परिवर्तन गर्दै होम एन्ड अवे लिग गर्न खोज्दा क्लबहरूले समय मागेको उनले मन्त्रीलाई बताए। साथै अहिले आफूहरु यो वर्ष राष्ट्रिय लिग वा ए डिभिजन लिग एकै भेन्यूमा गर्न तयार भएको पनि बताए।
उनले एन्फाका लागि सरकारसँग पाँच करोड माग गरेकोमा जम्मा ४० लाख मात्र बजेट बिनियोजन भएको पनि बताए।
त्यसपछि अन्त्यमा मन्त्रीले ए डिभिजन क्लब र एन्फाबीच नमिलेका कुरा बुँदागत रुपमा पठाउन भनेका थिए। साथै दशरथ रंगशालाले सन् २०२३ देखि अन्तर्राष्ट्रिय मान्यता गुमाएको अवस्थामा रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन मन्त्रालयबाट टिम खटाएर काम गर्ने मन्त्रीले बताए।
यस्तै मन्त्रीकोतर्फ सुझावसहितको प्रतिवदेन पेश गर्न गरी समिति बनाउन पनि प्रस्ताव गरिएको थियो। एन्फा प्रतिनिधि र विज्ञसहितको पाँच सदस्यीय समितिले पाँच दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न प्रस्ताव गरिएको छ। समितिले स्पष्ट रोडम्याडसहितको प्रतिवेदन दिन भनिएको छ।