जेन–जी आन्दोलनपछि दर्जनौं जेन–जी समूह सक्रिय देखिए। प्रधानमन्त्री सुशीला कार्कीले पनि शुक्रबार पत्रकार सम्मेलनमा कतिवटा जेन–जी समूह छन् भन्ने आफैलाई थाहा नभएको बताएकी थिइन्। दुई दर्जनभन्दा बढी समूहका प्रतिनिधिसँग पटक पटक भेटघाट गरेको पनि उनले जानकारी दिइन्।
सरकारले तिनै जेन–जी मध्येबाट १४ जना छानेर राजनीतिक दलहरूसँग संवाद गराएको थियो।
प्रधानमन्त्री कार्कीको निम्तोमा सरकार, राजनीतिक दल र जेन–जी प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा सहभागी ती १४ जना जेन–जी को को हुन्? उनीहरूको पृष्ठभूमि के हो?
हामीले यसका लागि ती १४ जनासँग कुराकानी गरेका छौं —
१) अमित खनाल (ऊर्जा)
अमित जेन–जी मुभमेन्ट अलायन्समा आबद्ध छन्।
उनी रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ मा जन्मिएका हुन्। उनी बुबा कमलप्रसाद खनाल र आमा कमलाका एक्ला छोरा हुन्।
बुटवलकै नयाँ गाउँ माध्यमिक विद्यालयबाट एसइई दिएका अमितले प्लस–टू क्यानन् माध्यमिक विद्यालयबाट गरे र थप अध्ययनका लागि भारत गए।
उनको पारिवारिक पृष्ठभूमि राजनीतिक छ। अमित सानो हुँदा उनका बुबा नेकपा मसालमा सक्रिय थिए। घरमा राजनीतिक कुराकानी भइरहने हुँदा बाल्यकालदेखि नै यसमा चासो लागेको उनी बताउँछन्।

'परिवारमा राजनीतिक छलफल चलिरहन्थ्यो, त्यही वातावरणले प्लस–टू पढ्दादेखि नै मैले राजनीतिबारे बुझ्ने अवसर पाएँ,' उनले भने, 'राजनीतिका सकारात्मक र नकारात्मक पक्षबारे बुझ्दै जाँदा यसमा रूचि र चासो पनि बढ्यो।'
यही रूचिले कलेज पढ्दादेखि नै नियमविपरीत हुने काम–कारबाहीबारे आवाज उठाउन थालेको उनी बताउँछन्।
उनी भारतमा पढ्दा पनि सामाजिक सञ्जालबाट भ्रष्टाचारविरूद्ध आवाज उठाइरहन्थे। सन् २०२३ मा भारतको महाराष्ट्रस्थित एक कलेजबाट बिटेक इन्जिनियरिङ सकेर फर्किएका उनी त्यसपछि 'पिपुल आर मी' ग्रुप बनाएर सामाजिक समस्याहरू उठाउने र त्यसबारे छलफल गर्न थाले।
'यो समूहमा धेरै साथीहरू जोडिनुभएको छ। हामी हरेक दिन कुनै न कुनै समस्याबारे कुरा गरिरहन्थ्यौं,' अमितले भने, 'त्यसरी सामाजिक सञ्जालमा बहस गरिरहँदा भदौ २३ गते भ्रष्टाचारविरूद्ध सामूहिक आवाज उठाउने कुरा निस्कियो।'
अमितलाई इन्जिनियरिङ सकेर फर्किएपछि नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले निजी सचिवालयमा नियुक्त गरेका थिए। पछि उनलाई प्रेस तथा आइटी विभाग हेर्ने जिम्मेवारी पनि दिइयो। त्यहाँ आफूले ६ महिना काम गरेको अमित बताउँछन्।
२) उपार्जुन चाम्लिङ
२४ वर्षीय उपार्जुन चाम्लिङको जन्म खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको निर्मली डाँडामा भएको हो। उनले धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरेका छन्।
यसअघि उनी धरानका मेयर हर्क साम्पाङको समर्थक भएर विभिन्न अभियानमा संलग्न भएका थिए। साम्पाङको चुनावी अभियानमा पनि सक्रिय थिए। तर अहिले उनले साम्पाङकै कतिपय गतिविधिमा प्रश्न उठाउँदै आएका छन्।
कोशी प्रदेशमा पहिचानको मुद्दा लिएर विभिन्न आन्दोलनमा सहभागी उपार्जुन करिब पाँच वर्षदेखि पहिचानका लागि आन्दोलनमा लागिरहेको बताउँछन्। कोशी प्रदेशको नामकरण, पाथीभरा केबलकार निर्माण, खुवालुङ ढुंगा फुटाउने निर्णयविरूद्धको आन्दोलन लगायतमा सहभागी भएको उनले जानकारी दिए।

चाम्लिङ राजनीतिक दल विवेकशील साझामा पनि आबद्ध थिए। तत्कालीन समयमा रविन्द्र मिश्रले 'विचारभन्दा माथि देश' को अवधारणा ल्याएपछि त्यसमा असहमत हुँदै पार्टी छाडेको उनी बताउँछन्।
'वैकल्पिक राजनीतिमा लाग्नुपर्छ भनेर म विवेकशील साझामा आबद्ध भएको थिएँ,' उनले भने, 'पार्टीमा पश्चगामी विचारको प्रवेश भएपछि छाडेको हुँ।'
विवेकशील साझा छाडेपछि नै उनी पहिचानका आन्दोलनमा सहभागी हुन थालेका थिए। त्यसमा क्रममा धेरै पटक प्रहरीको लाठी खाएको र हिरासतमा समेत बस्नुपरेको उनी बताउँछन्।
एक वर्षदेखि काठमाडौंमा बस्दै आएका उपार्जुन 'हामी नेपाल' का संयोजक सुदन गुरूङसहित असोज ३ गते जेन–जी प्रतिनिधिका रूपमा बालुवाटारमा भेला भएका थिए। त्यहाँ भेला हुँदा उनी कोशी प्रदेशका संयोजक तोकिएका थिए।
३) खेमराज साउद
२४ वर्षीय खेमराज बाजुराको बडीमालिका नगरपालिका–५ का हुन्।
उनले कक्षा ८ सम्म बाजुरामै पढे। त्यसपछि कञ्चनपुरबाट एसइई दिएपछि थप अध्ययन गर्न काठमाडौं आए। उनले पशुपति कलेजबाट मानविकीमा स्नातक गरेका छन्।
'बाजुरामा एउटा मेडिकल स्टोर पुग्न घन्टौं हिँड्नुपर्छ। बस चढ्न पनि लामो यात्रा गर्नुपर्छ,' उनले भने, 'भर्खर सहर आएकाले आफ्नो गाउँमा पनि केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने मलाई लाग्थ्यो।'
आफ्नो गाउँलाई सहयोग गर्ने योजनाले प्लस–टू सकेपछि २०७६ सालमा 'देशभक्त युवा नेपाल' भन्ने संस्था खोलेको उनी बताउँछन्। उनी उक्त संस्थाका उपाध्यक्ष थिए।
त्यही बेला निर्मला पन्तको न्यायको लागि सडकमा ओर्लिएको उनी सम्झन्छन्।
'मैले सामाजिक विकृति र भ्रष्टाचारविरूद्ध पटक पटक आवाज उठाएको छु,' उनले भने, 'एमसिसीको विरोधमा पनि सडकमा आएँ। धेरै पटक पक्राउ परेँ।'

खेमराजले आफ्नो सामाजिक अभियान क्रममा विकट ठाउँहरूमा स्वास्थ्य शिविर चलाएका छन्। ट्राफिक स्वयंसेवा र कृषि कार्यक्रममा पनि सहभागी भएका छन्।
यसरी काम गर्दै जाँदा सामाजिक सञ्जाल 'डिस्कर्ड' का माध्यमबाट जेन–जी आन्दोलनमा जोडिएको उनी बताउँछन्। सबैको सल्लाहअनुसार भदौ २३ गते माइतीघरमा प्रदर्शनको अनुमति लिन काठमाडौं जिल्ला प्रशासन कार्यालय गएको उनको भनाइ छ।
उनी अहिलेसम्म आफू कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको र परिवारका सदस्यहरू पनि राजनीतिमा नलागेको बताउँछन्।
४) पुरूषोत्तम यादव
भदौ २३ गते माइतीघरमा प्रदर्शन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिन जाने दुई युवामध्ये एक हुन्, पुरूषोत्तम यादव।
२६ वर्षीय पुरूषोत्तम सिरहामा जन्मिएका थिए। उनी अध्ययनका लागि काठमाडौं आएका थिए।
पत्रकारिताका विद्यार्थी यादवले 'स्वतन्त्र नेपाली युवाहरूको आयोजनामा' हुने भ्रष्टाचारविरूद्ध कार्यक्रमका लागि शान्ति सुरक्षा व्यवस्था गर्न प्रशासनसँग अनुमति मागेका थिए।

पछिल्लो समय राजनीतिक विरोधका लागि चर्चामा आएको 'नेपोबेबी' ट्रेन्ड सुरू गर्न पनि आफूले योगदान गरेको उनी बताउँछन्।
उनले 'वेक अप नेपाल' पेज सञ्चालन गरेर विभिन्न व्यक्तिको जीवनशैलीमाथि आलोचना गर्न थालेका थिए। भदौ २४ गते राति प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गर्न सैनिक मुख्यालय जाने टोलीमा उनी पनि संलग्न थिए।
५) भोजविक्रम थापा
भोजविक्रम थापा ६२ वर्षका भए। जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारका तर्फबाट उनी प्रतिनिधित्व गरिरहेका छन्।
आफ्नो भतिज ईश्वर अधिकारी भदौ २३ गते प्रहरीको गोली लागेर मारिएपछि यो आन्दोलनमा संलग्न भएको उनी बताउँछन्। उनी अहिले जेन–जी सहिद परिवारका अध्यक्ष हुन्।
'ईश्वरका बुबा केही महिनाअघि मात्र हृदयाघातका कारण बिरामी परेका थिए। छोरा पनि बितेपछि उनीहरूको परिवार सम्हाल्ने कोही भएन,' उनले भने, 'आफन्त भएका नाताले उहाँको हेरचाहदेखि सम्पूर्ण सहयोग मैले नै गरिरहेको छु।'

ईश्वरको हत्याविरूद्ध आवाज उठाउने क्रममा अन्य मृतकका परिवारसँग भेट भएको र सबैको सहमतिमा आफूलाई अध्यक्ष तोकिएको उनको भनाइ छ।
भोजविक्रमले सन् १९९८ मै इन्जिनियर सकेका हुन्। उनले एलएलबी पनि गरेका छन्। खानेपनी मन्त्रालयमा ६ वर्ष सहसचिवका रूपमा काम गरेका उनले ६ वर्षदेखि नेसनल कलेजमा पढाइरहेका छन्।
उनका बुबा पनि निजामती सेवा आबद्ध थिए। हजुरबुबा भने सैनिक सेवामा रहेको उनले जानकारी दिए।
६) मोनिका निरौला
जेन–जी मुभमेन्ट अलायन्समा आबद्ध मोनिका काठमाडौंमै जन्मे–हुर्केकी हुन्।
उनी आफूलाई सामाजिक तथा नारीवादी अभियनीका रूपमा चिनाउँछिन्। विशेषगरी उनी विविध लैंगिक पहिचान भएका व्यक्तिहरुको हक अधिकारको आन्दोलनमा प्रतिनिधिको रूपमा सहभागी हुने गरेकी छिन्।
त्यस्तै, निजगढ विमानस्थल निर्माणविरूद्ध र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरूद्ध बृहत नागरिक आन्दोलनले आयोजना गरेका आन्दोलनमा पनि सहभागी भएको उनी बताउँछिन्।
अर्थशास्त्र र अन्तर्राष्ट्रिय मामिलामा स्नातक गरेकी मोनिकाले अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेकी छन्। उनले आएसिइर र थेम्स कलेजमा पनि केही समय पढाइन्। केही महिनायता उनी युवाहरूलाई राजनीतिबारे शिक्षा प्रदान गर्ने 'हाउ टू देश विकास' संस्थामा आबद्ध छिन्।

जेनजी आन्दोलनअघि चलेको 'नेपोबेबी' ट्रेन्डका कारण सडकमा आएको उनी बताउँछिन्।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलहरूसँगको वार्तामा सहभागी मोनिकाले भदौ २३ र २४ को जेन–जी आन्दोलनलाई संस्थागत बनाउनुपर्ने माग गर्दै आएकी छन्।
७) दिवाकर दंगाल (रोहनराज दंगाल)
काठमाडौंको 'स्कुल अफ ल' मा पढेका २६ वर्षीय दिवाकर दंगालले जेन–जी प्रतिनिधिहरूलाई कानुनी सहयोग गर्दै आएका छन्।
कानुनको विद्यार्थी भएकाले जेन–जी आन्दोलनको सुरूआती दिनदेखि नै प्रदर्शनकारीहरूले गर्न हुने र नहुने कामबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै आएको उनी बताउँछन्।

अहिले पनि विभिन्न जेन–जी समूहका प्रतिनिधिलाई भेट्ने, कानुनी पाटोबारे छलफल गराउने र कानुनी विषय बुझाउने काम गरिरहेको उनी बताउँछन्।
'जेन–जी प्रतिनिधिहरूलाई एकजुट गराउने काममा पनि लागिपरेको छु,' उनले भने, 'रक्षा बम, पुरूषोत्तम यादव, रिजन राना मगर लगायतका विभिन्न टोलीलाई एकजुट गराउने काम गरिरहेको छु।'
उनी आफू काठमाडौंमा जन्मे–हुर्केको बताउँछन्।
८) रक्षा बम
कैललीको जानकी गाउँपालिका–१ की २५ वर्षीया रक्षा बम आफूलाई सामाजिक अभियानीका रूपमा चिनाउँछिन्।
उनले त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसबाट 'जेन्डर स्टडिज' मा स्नातकोत्तर गरेकी छन्।
लामो समयदेखि सामाजिक आन्दोलनमा सक्रिय रहँदै आएकी उनले कोभिड महामारी बेला खोप खरिदमा भएको भ्रष्टाचारविरूद्ध 'इनफ इज इनफ' अभियानमा कैलालीबाटै प्रदर्शन गरेकी थिइन्।
मिटर ब्याजविरूद्धको आन्दोलन, निर्मला कुर्मीको न्यायका लागि रूबी खानको नेतृत्वमा भएको आन्दोलन, काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीहरूमाथि गरेको धरपकडविरूद्धको आन्दोलनमा पनि उनी सहभागी भएकी थिइन्।
त्यस्तै, लुम्बिनीदेखि काठमाडौंसम्मको पैदलमार्चमा पनि उनले भाग लिएकी थिइन्।
पछिल्लो 'जेन–जी आन्दोलन' मा अग्रपंक्तिमा रहेकी रक्षा जेन–जी युवाहरूका तर्फबाट सैनिक मुख्यालय (जंगी अड्डा) गएर प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गर्ने टोलीमा संलग्न थिइन्।
तीन वर्षयता उज्ज्वल थापा फाउन्डेसनमा कार्यरत रक्षाले जेन–जी आन्दोलनपछि उक्त संस्थाबाट राजीनामा दिइन्।

अहिले रक्षाको संयोजकत्वमा 'नेपाल जेन–जी फ्रन्ट' को घोषणा भएको छ। अहिलेसम्म ३८ जना समेटेर संयोजन समिति गठन गरेको रक्षाले बताएकी छन्।
'हामीले देशभरि विभिन्न ठाउँमा बसेका प्रतिनिधिहरू समेटेर नेपाल जेनजी फ्रन्ट घोषणा गरेका छौं। यसमा महिला, विभिन्न संघ–संस्था, शुभेच्छुक, लैंगिक अल्पसंख्यक समुदाय समेतलाई समेटेका छौं,' उनले भनिन्, 'अहिले हामी ३८ जना छौं। यो संख्या बढ्दै जान्छ। हामी यसमा जोडिन अरू युवाहरूलाई पनि आह्वान गर्छौं।'
उनीहरूले नेपाल जेन–जी फ्रन्टको दस्तावेज तयार पारी सार्वजनिक गरेका छन्। भदौ २३ र २४ का घटनाबारे छानबिन र सिफारिस तत्काल कार्यान्वयन गर्न, सार्वजनिक व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न र भ्रष्टाचारविरूद्ध शून्य सहनशीलता नीति लागू गर्न उनीहरूको माग छ।
त्यस्तै, आउँदो फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र र भयमुक्त वातावरण बनाउन पनि माग गरिएको छ।
दस्तावेजमार्फत जेन–जी विद्रोहमा सहमत हुनेहरूसँग एकताको आह्वान समेत गरिएको छ।
९) रिजन राना मगर
रिजन जेन–जी मुभमेन्ट अलायन्समा आबद्ध छन्।
असोज २१ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सहित अन्य पदाधिकारीको राजीनामा माग्न रिजनसहितको टोली अख्तियारको कार्यालय पुगेको थियो।
उनी यसअघि मिटर ब्याजविरूद्धको आन्दोलनमा पनि सहभागी थिए। मिटर ब्याज पीडितहरू तराईका विभिन्न जिल्लाबाट काठमाडौंसम्म पैदल यात्रा गर्दा आफू पनि सँगै आएको उनी बताउँछन्।

त्यस्तै, बाँकेको निर्मला कुर्मी हत्या प्रकरणमा पनि रूबी खानसँग हातेमाले गर्दै कैलालीबाट काठमाडौंसम्म आएको उनले जानकारी दिए।
'मैले लामो समयदेखि सामाजिक न्यायको विषयमा बोल्दै आएको थिएँ,' रिजनले भने, 'जेन–जी आन्दोलनमा पनि सक्रिय रूपमा लागेँ। त्यसपछिको अवस्था हेरेर जेन–जी मुभमेन्ट अलायन्स बनाएका छौं।'
रिजन गोरखा नगरपालिका–५ मा जन्मिएका हुन्। अध्ययन क्रममा हेटौंडा, काठमाडौं र पोखरामा बसेको उनी बताउँछन्।
१०) विवेक ढकाल
२८ वर्षीय विवेक ढकाल काठमाडौंको बौद्धमा जन्मे– हुर्केका हुन्। उनले स्नातकोत्तरसम्म पढेको बताउँछन्। कलेजको नाम भने खुलाउन चाहेनन्।
आठ वर्षदेखि सामाजिक अभियानमा जोडिएका उनी '१०० ग्रुप' को संस्थापक सचिवका रूपमा काम गर्दै आएका छन्।
कोराना महामारीयता बिरामीलाई औषधि व्यवस्थापन गर्ने, खाना खुवाउने, लत्ताकपडा व्यवस्थापन गर्ने लगायत काम यो समूहले गर्दै आएको छ।

सामाजिक अभियानीका रूपमा काम गरिरहँदा विवेकले भ्रष्टाचारविरूद्ध पनि बोल्दै आएका छन्। आयकरको मुद्दा उठाएर एनसेल सेन्टर घेर्नेदेखि विदेश जाने क्रममा ठगिएकाहरूलाई उद्धार गर्ने काममा पनि आफू संलग्न रहेको उनको भनाइ छ।
उनी अहिले सुदन गुरूङ नेतृत्वको 'हामी नेपाल' संस्थामा पनि काम गर्दै आएका छन्।
'भ्रष्टाचारविरूद्ध आवाज उठाउन र सामाजिक न्यायका लागि म यो आन्दोलनमा सहभागी भएको हुँ,' उनले भने।
११) सामना लावती
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा जन्मिएकी सामना १२ वर्षको उमेरमा काठमाडौं आएकी थिइन्।
त्यसयता काठमाडौंमै रहेकी उनले ललितपुरको महालक्ष्मी नगरपालिका–७ स्थित ज्ञानोदय बाल बाटिकामा पढेकी हुन्।
सन् २०१७ देखि लैंगिक समानताबारे आवाज उठाउँदै आएकी सामना महिला तथा जनजाति समुदायसँग जोडिएका विभिन्न विषयमा बोल्दै आएकी छन्। सन् २०२० यता महिलाहरूलाई सशक्तीकरण गर्न विभिन्न संघ–संस्थामा आबद्ध भएर काम गरेको उनी बताउँछिन्।

'महिलाहरूको हक–अधिकार र चेतनाका लागि काम गर्दै आएकी छु,' उनले भनिन्, 'अझै कति सहने भन्ने कार्यक्रममा पनि काम गरेँ।'
आदिवासी महिला र पिछडिएका समुदायको पक्षमा आवाज नउठाउने हो भने उनीहरू अझै पछाडि पर्छन् भन्ने लागेर सामाजिक आन्दोलनमा सहभागी भएको उनको भनाइ छ।
१२) मिराज ढुंगाना
मिराज ढुंगाना जेन–जी आन्दोलन क्रममा टिकटकबाट चर्चामा आएका व्यक्ति हुन्। उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आफ्नो विचार राख्दै आएका छन्।

'गरिखान देऊ' का संयोजक मिराजले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। तर प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म चुनावमा भाग नलिने बताउँदै आएका छन्।
उनले आफ्नो थप विवरण खुलाउन चाहेनन्। केही समय चुप लागेर बस्ने समूहको निर्णय भएकाले केही कुरा नबोल्ने उनले बताए।
१३) अभिषेक श्रेष्ठ
अभिषेक श्रेष्ठ जेन–जी घाइतेहरूको प्रतिनिधिका रूपमा त्रिपक्षीय छलफलका लागि बालुवाटार गएका थिए।

सिन्धुपाल्चोक घर भएका उनी अहिले पनि ट्रमा सेन्टरमा उपचाररत छन्। उनको नली खुट्टामा गोली लागेको थियो।
उनले पनि आफ्नो थप पहिचान खुलाउन अस्वीकार गरे।
१४) जेम्स कार्की
जेम्स कार्कीले पनि आफ्नो परिचय गोप्य राख्न चाहेको बताए।

***