अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा परेका छन्। शुक्रबार भर्चुअल रुपमा बसेको एन्फाको आपतकालिन बैठकले खड्कालाई निलम्बन गरेको हो। 

 
यसअघि एन्फा अध्यक्ष अध्यक्ष पंकजबिक्रम नेम्बाङले  खड्कालाई गत आइतबार स्पष्टिकरण सोधेका थिए।
अध्यक्ष नेम्बाङ विदेश गएको बेला आफू स्वत: कार्यवहाक अध्यक्ष भएको भन्दै खड्काले महासचिव किरण राईलाई स्पष्टिकरण सोधेका थिए। साथै तीन दिनभित्र जावाफ नदिएको भन्दै खड्काले राईलाई निलम्बन समेत गरेका थिए। 
यो प्रक्रियाका अनाधिकृत भएको भन्दै अध्यक्ष नेम्बाङले वरिष्ठ उपाध्यक्ष खड्कालाई आइतबार स्पष्टिकरण सोधेका थिए। खड्कालाई पाँच वटा प्रश्न गर्दै स्पष्टिकरण सोधिएको थियो।  उक्त जवाफ चित्तबुझ्दो नभएपछि खड्का निलम्बनमा परेका हुन्।  उनको निलम्बन आगामी साधारण सभासम्म हुने बताइएको छ।
खड्कालाई यसअघि सोधिएको स्पष्टिकरण पत्रमा भनिएको थियो, ‘वरिष्ठ उपाध्यक्ष तपाई श्री वीर बहादुर खड्काले विभिन्न समयदेखि निरन्तर एन्फाको पहिचानलाई कमजोर बनाउने, आन्तरिक विषयहरुमा गोपनियता कायम नगर्ने, संघको वरिष्ठ उपाध्यक्षको हैसियतमा पालना गर्नुपर्ने आचरण पालन नगर्ने र संघको विधान विपरीत अनधिकृत रुपमा संघका पदाधिकारीविरुद्ध सामाजिक सन्जाल, आमसञ्चार माध्यमहरुको प्रयोग गरी गलत अफवाह फैलाउने जस्ता कार्यहरु गर्दै आइरहनु भएको छ । गत वर्ष सम्पन्न सहिद स्मारक सी डिभिजन लिग प्रतियोगिता २०८० का विभिन्न खेलहरुमा मिलेमतो भएको भन्दै क्लबहरु प्रति तपाईंले लगाएको गम्भीर आरोपविरुद्ध सी डिभिजन क्लबहरुको उजुरी हाल पनि एन्फा अनुशासन समितिमा विचाराधीन छ।’