क्लब विश्वकप २०२५ अन्तर्गत जर्मन क्ब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले शानदार प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन्।
बायर्नले ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो। पिएसजीले अमेरिकी क्लब इन्टर मियामीमाथि ४-० ले सजिलो हरायो।
अब अन्तिम चारमा पुग्न पिएसजी र बार्यन भिड्नेछन्।
बायर्न म्युनिखले फ्लामेन्गोविरुद्ध पहिलो हाफमै प्रभाव देखायो। खेलको छैटौं मिनेटमा फ्लामेन्गोका एरिक पल्गरले आत्मघाती गोल गरेपछि बायर्नले सुरुवाती अग्रता लियो। नवौं मिनेटमा ह्यारी केनले गोल थप्दै बायर्नको अग्रता दोब्बर बनाए।
फ्लामेन्गोका जेर्सनले ३३औं मिनेटमा गोल फर्काए पनि ४१औं मिनेटमा लियोन गोरेत्स्काले बायर्नको लागि तेस्रो गोल गरे। दोस्रो हाफमा फ्लामेन्गोका जोर्जिन्होले ५४औं मिनेटमा गोल गरेर खेललाई रोमाञ्चक बनाए। तर ह्यारी केनले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको ४-२ को जित सुनिश्चित गरे।
पिएसजीले इन्टर मियामीविरुद्ध प्रभावशाली जित निकाल्यो। खेलको छैटौं मिनेटमा जोआओ नेभ्सले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। उनले ३९औं मिनेटमा दोस्रो गोल थपे।
४४औं मिनेटमा इन्टर मियामीका टोमास एभिल्सले आत्मघाती गोल गरे भने पहिलो हाफको अतिरिक्त समय (४५+३ मिनेट) मा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ४-० को अग्रता दिलाए।