एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरूद्ध खेल्ने नेपाली महिला टोलीको प्लेइङ-११ सार्वजनिक गरिएको छ।
जसमा कप्तानको जिम्मेवारी रेनुका नगरकोटेलाई दिइएको छ। तर केही पछि एन्फाले फरावर्ड सावित्रा भण्डारी साम्बा कप्तान भएको सार्वजनिक गरेको थियो।*
पछिल्ला खेलमा कप्तानी गरेकी अन्जिला तुम्बापो सुब्बा भने बेञ्चमा छिन्। अन्जिला बेन्च रहेपछि अन्जना रानामगर गोलकिपरको भूमिकामा हुनेछन्।
लाओसविरूद्धको नेपाली टोली
गोलकिपर : अन्जना रानामगर
डिफेन्डर : समिक्षा घिमिरे, गीता राना, निशा थोकर
मिडफिल्डर : रेनुका नगरकोटे (कप्तान), सरु लिम्बू, सरस्वती हमाल, सविता राना, अनिता बस्नेत
फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज एएफसी एसियन कपअन्तर्गत समूह ‘एफ’ को छनोटमा आफ्नो पहिलो खेल खेल्न लागेको हो।
उज्वेकिस्तानमा हुने छनोटको पहिलो खेलमा नेपाल र लाओसको महिला टोलीबीच नेपाली समयअनुसार साँझ सवा छ बजे खेल सुरु हुनेछ।
समूहमा नेपालका लागि लाओस नयाँ प्रतिद्वन्द्वी हो। दुवै महिला टोली अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक भिड्न लागेका हुन्।
फिफा वरीयताको आधारमा लाओस नेपालका लागि बलियो प्रतिद्वन्द्वी भने होइन।
लाओस महिला फिफा वरीयतामा १०७औं स्थानमा छ। नेपाल भने १००औं स्थानमा रहेको छ।
यो खेल नेपाली महिला फुटबल टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत हो।
समूहमा नेपालले यो खेललाई महत्वपूर्ण रुपमा लिएको छ। खेलको नतिजाले नेपालको एसियन कप छनोट यात्रालाई प्रभाव पर्नेछ।
समूहमा नेपालले बुधबार श्रीलंका र शनिबार उज्वेकिस्तानसँग खेल्नेछ। यो समूहमा शीर्ष स्थान हात पारे मात्र नेपाल एसियन कपमा छनोट हुनेछ।
*अपडेट गरिएको