फिफा क्लब विश्वकप २०२५ को समूह चरणको आफ्नो दोस्रो खेलमा अमेरिकी क्लब इन्टर मियामीले ऐतिहासिक जित हासिल गरेको छ। यता युरोपियन च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले अप्रत्यासित हार बेहोरेको छ।
लिओनल मेसीको नेतृत्वमा रहेको इन्टर मियामीले अमेरिकाको अटलान्टाको मर्सिडिज-बेन्ज स्टेडियममा भएको समूह 'ए' को खेलमा दुई पटकको युरोपियन च्याम्पियन एफसी पोर्टोलाई २-१ ले पराजित गर्दै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनायो।
आठौं मिनेटमा पोर्टोका सामु अघेहोवाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए। तर, दोस्रो हाफमा इन्टर मियामीले उत्कृष्ट पुनरागमन गर्यो। ४७औं मिनेटमा सेगोभियाले बराबरी गोल गरे। ५४औं मिनेटमा मेस्सीले आफ्नो ६८औं फ्री-किक गोलमार्फत टोलीलाई अग्रता दिलाए।
यो जितले इन्टर मियामीलाई समूह 'ए' मा पाल्मेइराससँग ४ अंकमा संयुक्त रूपमा शीर्ष स्थानमा पुर्याएको छ। अब मियामीले जुन २३ मा हार्ड रक स्टेडियममा पाल्मेइरासविरुद्धको अन्तिम समूह खेलमा जित हासिल गरेमा नकआउट चरणमा स्थान पक्का गर्नेछ।
समूह 'बी' को खेलमा युरोपियन च्याम्पियन पिएसजीले पासाडेनाको रोज बाउलमा बोटाफोगोसँग १-० को अप्रत्यासित हार बेहोर्यो।
बोटाफोगोका लागि ३६औं मिनेटमा इगोर जेससले डिफ्लेक्टेड सटमार्फत गोल गरेका थिए। यो हारले पिएसजीलाई समूह 'बी' मा ३ अंकमा छ। अब पिएसजीले जुन २३ मा सिएटल साउन्डर्सविरुद्धको अन्तिम समूह खेल जित्नैपर्ने दबाबमा छ, नत्र युरोपियन च्याम्पियन प्रारम्भिक चरणमै बाहिरिन सक्छ।