अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग गर्ने भन्दै यो वर्ष राष्ट्रिय लिग मात्र गर्ने जनाएको छ।
एन्फामा आज क्लबहरूसँग भएको छलफलमा २०८३ को पुसदेखि होम एन्ड अवे लिगका लागि अहिलेदेखि नै तयारी सहमती भएको छ।
यो वर्ष भने तीन वर्षअघिको ए डिभिजन लिगको शीर्ष ६ टोली र मंसिरमा हेटौंटामा हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष ४ टोली गरी कुल १० टोलीबीचको राष्ट्रिय लिग गरिने भएको छ।
राष्ट्रिय लिग गर्ने विषयमा ए डिभिजन लिगका क्लबहरुले सहमत भएको भन्दै हस्ताक्षर समेत गरेका छन्।
राष्ट्रिय लिग पुस ९ देखि सुरू गर्न पनि क्लबहरूसँग सहमति भएको छ। क्लबहरूसँग भएको सहमति एन्फाको कार्यसमिति बैठकबाट निर्णय गराइने एन्फा सचिवालयको भनाइ छ।
राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइजसँगै, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब,सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्।
राष्ट्रिय लिगको विजेताले एएफसी क्लब प्रतिस्पर्धामा सहभागिता पाउने एन्फा सचिवालयको भनाइ छ।


