एएफसी एसियन कप २०२६ अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली लाओसविरूद्धको आज साँझ खेल्दैछ।
खेल नेपाली समयअनुसार ५:४५ मा लाओसको राष्ट्रिय रंगशालामा हुनेछ।
खेलको पहिलो रोजाइ सार्वजनिक भएको छ। नेपाली टोलीमा किरण चेम्जोङ (कप्तान तथा गोलकिपर), बिमल पाण्डे, अनन्त तामाङ, सुमन श्रेष्ठ, योगेश गुरुङ, अन्जन बिष्ट, रोहित चन्द, अरिक बिष्ट, आयुष घलान, मनिष डाँगी र लकेन लिम्बु छन्।
तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपालले मलेशियासँग २-० गोलको हार बेहोरेको थियो। लाओसले भने भियतनामसँग ५-० ले हारेको थियो। समूहको विजेता मात्र एसियन कपमा पुग्नेछ।
यो खेलमार्फत् नेपाल छनोटमा पहिलो अंक जोड्ने लक्ष्यमा छ।
खेललाई सामान्य रूपमा नलिएको मुख्य प्रशिक्षक म्याट रसले बताएका छन्।
मंगलबार बेलुका प्रिम्याच कन्फ्रेसका क्रममा प्रशिक्षक रसले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताएका छन्। लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने बताउँदै उनले भने, ‘मलाई लाग्छ। लाओस पूर्णरुपमा संगठित टोली हो। अत्यन्त्य आक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ। त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गंभीरतापूर्वक लिएकाछौ । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेका छन्।’
सोही क्रममा प्रशिक्षक रसले टोलीमा केही परिवर्तन हुने संकेत गरेकाछन्। हङकङविरुद्ध खेलेको टोली नै मैदानमा उत्रनेमा केही संशय रहेको बताउँदै उनले भने, ‘हङकङविरुद्ध मैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ । संभवतः हामी बलियो टोली मैदानमा उतार्नेछौ।’
हङकङविरुद्धको खेलमा डिफेन्स सनिश श्रेष्ठ चोटिल अवस्थामा रहेका छन्। प्रेस कन्फ्रेन्सका क्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्ध खेल्न सधै सकारात्मक रुपमा तयार रहेको बताए। उनले भने, “लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार रहेकाछौ । पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु । त्यसैले पनि भोलीको खेलका लागि हामी शारिरीक र मानसिक रुपमा तयार रहेकाछौ ।”