जोब र ज्युड बेलिङघम दुवैको जन्म वेस्ट मिडल्यान्ड्सको स्टौरब्रिजमा भएको हो। उनीहरू दुवै बर्मिङघमको एकेडेमीमा हुर्किए। तर के भविष्यमा उनीहरू इंग्ल्यान्डको जर्सीमा सँगै मैदानमा देखिन सक्छन्?
ज्युडले जर्मन क्लब डर्टमन्डमा सामेल भएको चार महिनापछि नै इंग्ल्यान्डका लागि डेब्यू गरेका थिए। अहिलेसम्म ४३ खेलमा ६ गोल गरिसकेका छन्। उनले २०२१ र २०२४ को युरोपियन च्याम्पियनसिपको फाइनलमा इंग्ल्यान्डले पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्।
आफ्नो दाइ जस्ते जोबले पनि इंग्ल्यान्डका विभिन्न युवा टोलीबाट खेलिसकेका छन्। हाल स्लोभाकियामा हुने युरोपियन यू-२१ च्याम्पियनसिपका लागि इंग्ल्यान्डको युवा टोलीमा छनोट भएका छन्। यस्तै उनले इंग्लिस क्लब सन्डरल्यान्डलाई प्रिमियर लिगमा बढुवा गर्न उत्कृष्ट खेलेका थिए। अब उनी जर्मन क्लब बोरुसिया डर्टमुन्ड जाँदैछन्।
गत सेप्टेम्बरमा आफ्नो युट्युब च्यानलमा बोल्दै ज्युडले भाइ जोब पनि छिट्टै इंग्ल्यान्डको सिनियर टोलीमा सामेल हुने आशा व्यक्त गरेका थिए।
‘हाम्रो उमेर लगभग एउटै छ र हामीले लामो समयदेखि सँगै खेलेका छौं - सडकमा, घाँसे मैदानमा। त्यसैले मेरो भाइसँग इंग्ल्यान्डका लागि खेल्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो सपना हुनेछ,’ ज्युडले भनेका छन्, ‘त्यो कुनै पनि उपाधिभन्दा ठूलो हुनेछ, विशेषगरी यदि हामीले सँगै ठूलो प्रतियोगिता खेल्न र जित्न सक्यौं भने। त्यसको बराबरीमा अरू केही पनि आउन सक्दैन।’
ज्युडलाई लाग्छ कि उनको सफलताले उनका भाइलाई थप प्रेरणा दिनेछ।
‘उसले मेरो उमेरमा मैले सामना गर्नुपरेको भन्दा बढी दबाब झेल्नुपरेको छ, र उसले त्यो सबलाई निकै शालीनताका साथ सामना गर्छ,’ उनले भने, ‘आफ्नो छुट्टै विरासत र बाटो बनाउन चाहन्छ। मानिसहरूले मलाई होच्याउन उसलाई प्रयोग गर्छन् र उसलाई होच्याउन मलाई। त्यसैले हामी एक-अर्काको सबैभन्दा ठूलो प्रशंसक पनि हौं र एक-अर्काको लागि सबैभन्दा ठूलो निशाना पनि। जबसम्म ऊ खुसी छ, मलाई त्यतिले नै पुग्छ। उसको खुसी मेरो आफ्नो खुसीभन्दा बढी महत्त्वपूर्ण छ।’
जोब इंग्ल्यान्डको अन्डर-२१ च्याम्पियनसिप टोलीमा परेका छन्, यदि उनको डर्टमन्डसँगको सम्झौता जुन १० सम्ममा पूरा भयो भने उनले च्याम्पियनसिपको सट्टा क्लब वर्ल्ड कपमा खेल्न सक्नेछन्।
३२ टोलीको क्लब जुन १४ देखि जुलाई १३ सम्म संयुक्त राज्य अमेरिकामा हुँदैछ।
डर्टमन्ड समूह 'एफ' मा ब्राजिलको फ्लुमिनेन्स, दक्षिण कोरियाको उल्सान एचडी र दक्षिण अफ्रिकाको मामेलोडी सनडाउन्ससँग परेको छ। ज्युडको क्लब रियल म्याड्रिड भने समूह 'एच' मा साउदी अरेबियाको अल-हिलाल, मेक्सिकोको पाचुका र अस्ट्रियाको रेड बुल साल्जबर्गसँग छ।
यदि डर्टमन्ड र रियल दुवैले आ-आफ्नो समूह र अन्तिम-१६ को खेल जिते भने, उनीहरू जुलाई ५ मा हुने क्वार्टरफाइनलमा भिड्नेछन्।
त्यसबेला जोबले पहिलो पटक कुनै प्रतिस्पर्धात्मक खेलमा आफ्नो दाइको सामना गर्न सक्नेछन् र आफ्नो छुट्टै पहिचान बनाउने सुनौलो अवसर पाउनेछन्।
-बीबीसी स्पोर्ट्समा प्रकाशित समाचारको भावानुवाद।