परराष्ट्र मन्त्रालयको आयोजनामा पहिलो पटक कूटनीतिक फुटसल प्रतियोगिता भएको छ।
जेठ १५ र १८ गते बालुवाटारस्थित ढुकु स्पोर्ट्स हबमा फुटसल सञ्चालन भइरहेको हो।
यस प्रतियोगितामा काठमाडौंस्थित १० देशका राजदूतावास, सार्क सचिवालय र परराष्ट्र मन्त्रालयको दुई वटा टोलीसहित कूल १३ टोलीको सहभागिता छ।
अस्ट्रेलिया, बङ्गलादेश, रसिया, भारत, जापान, स्विट्जरल्याण्ड, युएई, संयुक्त राज्य अमेरिका, नर्वे र चीन गरी १० राजदूतावासहरूले यस प्रतियोगितामा भाग लिएका छन्।
सहभागी टिमहरूलाई चार समूहमा विभाजन गरी लिग चरणको खेलहरू सम्पन्न गरिने र प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्ने गरी खेलहरू सञ्चालन भइरहेका छन्।
परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख श्री गेहेन्द्र राजभण्डारी र भारतीयका राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रमको उद्देश्य खेल कूटनीति प्रवर्द्धन गर्ने रहेको आयोजकले जनाएको छ।
जेठ १५ गतेका दिन लिगको चरणको १० वटा खेलहरू सम्पन्न गरिएको छ।
लिग चरणको बाँकी खेलहरू जेठ १८ गते आइतबारका दिन सम्पन्न हुने र साथै सोही दिन सेमिफाइनल र फाइनल पनि सम्पन्न गरिनेछ।
नेपालमा पहिलो पटक यस्तो प्रकारको प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितमा विभिन्न देशका राजदूतावासका कर्मचारी र समर्थकहरूको आफ्नो राष्ट्रको समर्थनमा उत्साहजनक र बाक्लो उपस्थिति रहेको थियो।