सन् २०२६ मा साउदी अरेबियामा आयोजना हुने एएफसी यू–२३ एसियन कपको छनोट चरणमा नेपालले समूह ‘के’मा परेको छ।
एएफसीले बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा समूह चरणको ड्र सार्वजनिक गरेको हो।
नेपालले समूहमा आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ।
ताजिकिस्तानले यस समूहका खेलहरूको आयोजना गर्नेछ। समूहका खेलहरू सेप्टेम्बर पहिलो सातादेखि सुरु हुनेछ।
छनोट चरणको ढाँचाअनुसार ११ समूह विजेताहरू सिधै अन्तिम चरणका लागि छनोट हुनेछन्। समूहमा दोस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीहरू पनि अन्तिम चरणमा स्थान बनाउनेछन्।
आयोजक राष्ट्र साउदी अरेबिया आयोजक राष्ट्रका रूपमा स्वतः अन्तिम चरणमा सहभागी हुनेछ।
छनोट चरणका खेलहरू २०२५ सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्।
नेपालले अहिलेसम्म एएफसी यू–२३ एसियन कपको अन्तिम चरणमा स्थान बनाउन सकेको छैन।