नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा एफसी चितवनले विजयी सुरूवात गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा चितवनले पोखरा थन्डर्समाथि २-० गोलको जित निकालेको हो।
खेलको १५ मिनेटमा नोडिरबेक माभलोनोभको गोलबाट चितवनले अग्रता लिएको थियो। उनले भिक्टोर मानसराले दिएको पासमा बक्स नजिकबाट गोल गर्न सफल भएका थिए।
त्यसपछि पनि चितवनले पहिलो हाफँमा लगातार दबाब दिए पनि गोल गर्न सकेन। चितवन शिशिर लेखी र टोरिक जेबरिनको प्रयास सफल हुन सकेन।
दोस्रो हाफमा पनि चितवनले अग्रता दोब्बर पार्ने प्रयास गर्यो। तर इन्जुरी समयको छैटौं मिनेटमा मात्र सफल हुन सक्यो।
चितवनका लागि दोस्रो गोल निरज चौधरीले गरे। उनलाई गोल गर्न भिक्टरले भने पास दिए।
त्यसअघि विदेशी खेलाडीको विषयमा विवाद हुँदा खेल निर्धारित समयभन्दा १८ मिनेट ढिलो गरी सुरु भएको थियो।
लिगमा भोलि बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीच खेल हुनेछ।