नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेका प्रदर्शनकारीहरूले देउवा दम्पतीलाई कुटपिट र लछारपछार गरेर सेना र सशस्त्र प्रहरीको जिम्मा लगाएका छन्।
मंगलबार मध्याह्न प्रदर्शनकारीहरू उनको निवासमा प्रवेश गरी आगजनी र तोडफोड गरेका थिए। उनीहरूले देउवा दम्पतीलाई कुटपिट र लछारपछार पार्दै घरबाट निकालेर बाहिर आँगनमा ल्याए। त्यसपछि सुरक्षाका लागि तैनाथ सेना र सशस्त्र प्रहरीको जिम्मा लगाइदिए।
उनीहरूलाई कुटपिट र लछारपछार गरिएको भिडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। उक्त भिडिओमा देउवालाई चउर बीचमा बसालिएको देखिन्छ। वरिपरि सेना र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका छन्। केही प्रदर्शनकारीहरूले उनलाई गाली गरिरहेको पनि सुनिन्छ।
त्यस्तै, एउटा क्लिपमा प्रदर्शनकारीहरूले देउवालाई लछारपछार गरिरहेको देखिन्छ। एक प्रदर्शनकारीले उनलाई 'प्रहरीलाई बुझाइदेऊ' भनेको पनि सुनिन्छ।