नेपाल र बंलादेशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्णको पहिलो हाफ बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
पहिलो हाफमा मणिकुमार लामाको फ्रिकिकमा अनन्त तामाङको हेडर सटिक हुन सकेन। सिक्स यार्ड बक्समा त्यसपछि अन्जन बिस्ट पनि सफल हुन सकेनन्।
एएफसी एसियन कप छनोटमा बाँकी खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपाल र बंलादेशबीच मङ्गलबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ। दुई खेलको यो सिरिजको दोस्रो खेलसम्म नतिजा बराबरी भए पेनाल्टी सुटआउटबाट विजेता टुङ्गो लगाइनेछ।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन्।
नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।
नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो।
नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ। त्यसको एक सातापछि नेपालमा भियतनामले खेल्ने तालिका भए पनि सो खेल मैदानका कारण नहुने भएको छ। यो खेल पनि भियतनामै हुनेछ।