नेपाल र बंलादेशबीचको दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजको पहिलो खेल बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको हो।
पहिलो हाफमा मणिकुमार लामाको फ्रीकिकमा अनन्त तामाङको हेडर सटिक हुन सकेन। सिक्स यार्ड बक्समा त्यसपछि अन्जन विष्ट पनि सफल हुन सकेनन्।
दोस्रो हाफमा बङ्गलादेशका ताज उद्दिनको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले विफल पारे। अब दोस्रो खेल मङ्गलबार हुनेछ। दुई खेलको यो सिरिजको दोस्रो खेलसम्म नतिजा बराबरी भए पेनाल्टी सुटआउटबाट विजेता टुङ्गो लगाइनेछ।
नेपालले दशरथ रङ्गशालामा दुई वर्षपछि खेलेको हो। पछिल्लो पटक नेपालले सन् २०२३ को नोभेम्बरमा यमनसँग एसियन कप छनोटको खेलमा प्रतिस्पर्धा गरेको थियो।
एएफसी एसियन कप छनोटमा बाँकी खेलको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।
एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। समूहमा नेपालसँगै मलेसिया, लाओस र भियतनामसँगै छन्।
नेपालले अहिलेसम्म समूह चरणमा दुई खेल खेलेको छ। तर दुवै खेलमा हार बेहोरेको कारण अंक जोड्न सकेको छैन।
नेपालले मलेसिया र लाओसविरूद्ध अवे खेलमा पराजय भोगेको थियो।
नेपालले छनोटको अब असोज २३ गते भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ। त्यसको एक सातापछि नेपालमा भियतनामले खेल्ने तालिका भए पनि सो खेल मैदानका कारण नहुने भएको छ। यो खेल पनि भियतनामै हुनेछ।