बुटवलमा सम्पन्न २३ औं तिलोत्तमा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ।
शनिबार विभागीय टिम सशस्त्र प्रहरी एपिएफलाई दुई शून्य गोल अन्तरले हराउँदै चर्च ब्वाइजले गोल्डकप उपाधि चुमेको हो।
फाइनल खेलमा १९ औं मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए भने ६६ औं मिनेटमा राज भुसालले अर्को गोल गरेर जित पक्का गरेका थिए।
सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले मेचीनगर गोल्डकपको पनि उपाधि विजेता हो। चर्च ब्वाइज र एपिएफको भेट यही सिजनको दोस्रो हो। यसअघि बागमती गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणमा चर्च ब्वाइजले एपिएफलाई सेमिफाइनलमा पराजित गरेको थियो।
बुटवल उपमहानगरपालिका संरक्षक रहेको प्रतियोगिताको उपाधि विजेता चर्च ब्वाइजले गोल्डकपसँगै नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपिएफले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ प्राप्त गरेको छ।
त्यस्तै खेल अवधिभर सर्वोत्कृष्ट बन्दै चर्च ब्वाइजका अमन लामाले स्कुटर प्राप्त गरेका छन्।
प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दिवस चौधरी, डिफेन्डर एपिएफका मान बहादुर राना, मिड फिल्डर एपिएफका स्यामुल सुनार, फरवार्ड चर्च ब्वाइजका रिचार्ड विल्सन र उत्कृष्ट कोच चर्च ब्वाइज आशिक थापा मगरलाई जनही नगद ३१ हजार पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगिताको उपाधि विजेता र उपविजेता तथा विधागत पुरस्कार विजेतालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गोल्डकप र नगद पुरस्कार प्रदान गरेका थिए।
गत चैत ९ गतेदेखि सुरू भएको प्रतियोगितामा आयोजक रूपन्देही ११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, एपिएफ क्लब तथा दुई विदेशी टिमहरू एडोर्न गडवाल स्पोर्टिङ क्लब र जर्जियन एफसी गरि आठ टिमले प्रतिस्पर्धा गरेका थिए।
मोफसलको ठूलो धनराशीको पुरस्कार मात्र होइन बुटवलको पुरानो र प्रतिष्ठित प्रतियोगिता रहेकोले पनि तिलोत्तमा गोल्डकपलाई महत्वका साथ लिने गरिन्छ।
तिलोत्तमा गोल्डकप प्रतियोगिता आयोजनाका लागि बुटवल उपमहानगरपालिकाले यस वर्ष ४० लाख रुपैयाँ उपलब्ध गराएको थियो।