स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ।
बिहीबार ओसासुनामाथि ३-० गोलको जित निकालेसँगै बार्सिलोनाले अग्रता तीन अंकमा पुर्याएको हो।
बार्सिलोनाका लागि फेरान टोरेशले ११, ड्यानी ओल्मोले २१ र रोबर्ट लेवान्डोवस्कीले ७७ मिनेटमा गोल गरे। यो जितले बार्सिलोनाले २८ खेलबाट ६३ अंक जोडेको छ।
दोस्रो स्थानको रियल म्याड्रिडको ६० अंक र तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ५६ अंक छ।
ओसासुनाविरूद्धको यो खेल मार्च ८ मा खेल्ने भनिएको थियो। तर बार्सिलोनाका पहिलो टोलीका डाक्टर कार्लेस मिनारो गार्सियाको मृत्युपछि खेल सुरु हुनुभन्दा २० मिनेट अगाडि रद्द गरिएको थियो।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले अन्तर्राष्ट्रिय ब्रेक समाप्त भएको एक दिन पछि खेलको तालिका राखेकोमा आलोचना गरेका थिए। ब्राजिल राष्ट्रिय टोलीबाट खेलेपछि फर्किएका राफिन्हाले यो खेल गुमाएका थिए।